पूर्वसभामुख महरा रिहा
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् । महरालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले बताए । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार असोज २९ देखि महरा पुर्पक्षको लागि कारागारमा थिए ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्ववय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन प्रकरणमा संलग्न आरोपमा महरालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनीविरुद्ध सरकारी वकिलले ८ करोड ५५ लाख ८८ हजार बिगो मागदावी लिएर अभियोगपत्र दायर गरेको थियो ।















