महाधिवेशनबारे संस्थापन पक्षकै फरकफरक सुझाव
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताबीच नै चुनावअघि कार्यतालिका ल्याउने कि चुनावपछिको भन्नेमा मत बाझिएको छ । बैठकमा सहभागी कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने कुनै मत नै नराखीकन बाहिरिएका छन् । प्रवक्ता डा। प्रकाशशरण महतले भने महाधिवेशन चुनावपछि गर्ने विषय नै अघि बढेको जानकारी दिएका छन् । तर, उनले पनि समान्य ब्रिफिङबाहेक कुनै ठोस निर्णय नभएको बताए । बैठकमा सहभागी एक नेताका अनुसार संस्थापन पक्षका नेता रमेश लेखकले चुनाव हुँदा महाधिवेशन नहुने पक्का रहेको भन्दै पुस मसान्तअघिकै कार्यतालिका ल्याएर अघि बढ्नुपर्ने ब्रिफिङ गरेका थिए ।
यसमा उनलाई सहमहामन्त्री भीष्मराज आङदेम्बे, मीन विश्वकर्मा, रमेश रिजालसहितका नेताले साथ दिएका थिए । उनीहरूले चुनाव सरे मात्र महाधिवेशन हुने निश्चित रहेको भन्दै विशेष महाधिवेशनका पक्षधरहरूलाई जिल्ला फर्काएर चुनावमा खटाउन पनि महाधिवेशन तालिका अनिवार्य भएको तर्क गरेका थिए । ती नेताका अनुसार संस्थापन पक्षका वरिष्ठ नेताले भने पुरानै अडान राखेका थिए । उनीहरूले नहुने महाधिवेशनको तालिका ल्याउनु नक्कली काम हुने र यस्तो काम पार्टीभित्र बेइमानी हुने तर्क गरेका थिए । चुनाव हुन्छ भन्ने आधारमै कांग्रेसले भाग लिने निर्णय गरेकाले त्यसमा शंका पैदा हुने काम पनि पार्टीले गर्न नहुने बताएका थिए । संस्थापन पक्षका नेताहरू विमलेन्द्र निधि र कृष्ण सिटौलाले ‘लोकप्रियताका लागि निर्णय गर्न नहुने’ तर्क गरेका थिए । ती नेताका अनुसार ‘पार्टीको वास्तविक अवस्था बिगार्ने गरी हिँडेका लोकप्रियतावादीहरूकै शैलीमा चल्नु उपयुक्त नहुने भन्दै पार्टी कि चुनावमा कि महाधिवेशनमा एक मात्र रोज्ने अवस्था रहेको’ तर्क गरे ।















