हङकङविरुद्ध नेपालको शानदार जित
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । जितका लागि २७१ रनको चुनौती पछ्याएको हङकङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । हङकङका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए । यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो ।
कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २र२ विकेट हात पारे । आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याचसमेत चुनिए । नेपालले यसअघि पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो । १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् । रासस















