सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू हुने बताए ।‘राष्ट्रपतिज्यूबाट सरकारको निर्णय स्वीकृत भएसँगै लागू भएको छ । आवश्यकताअनुसार सेना परिचालन हुन बाधा हुनेछैन ।

मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृतिका लागि निर्णय गरेर राष्ट्रपतिकहाँ पठाएको थियो । उक्त निर्णयलाई राष्ट्रपतिले बिहीबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि मंसिर ४ गते सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको कानुनमा सुरक्षा परिषद्ले परिस्थिति हेरेर सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई पठाउने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *