गोवाको नाइटक्लबमा आगलागीमा परी चार नेपालीको मृत्यु

काठमाडौं । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी चार नेपाली नागरिकले ज्यान गुमाएको पुष्टि गरिएको छ । गोवाको नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत चारजना नेपालीको मृत्यु भएको छ, भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले भने । चुर्नबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप नाम गरेका नेपालीको मृत्यु भएको पुष्टि गरिएको छ । उनीहरू सबै त्यही नाइटक्लबमा कार्यरत थिए । आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने बाँकी सबै भारतीय नागरिक हुन् ।

मृतकको शव स्थानीय अस्पतालमा रहेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि शव सम्बन्धित परिवारलाई बुझाउने काम हुन्छ, उपनियोग प्रमुख थापाले भने । मृत्यु हुने नेपाली कसैको परिवार पनि दूतावासको सम्पर्कमा आएका छैनन् । शव परिवारलाई हस्तान्तरण गरेपछि क्षतिपूर्ति उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइने दूतावासले जनाएको छ । भारतका निम्ति नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले गोवामा नेपालीको मृत्यु हुने गरी भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । गोवामा भएको आगलागीमा २५ जनाको ज्यान गएकोमा म अत्यन्तै दुःखी छु, जसमा चार नेपाली नागरिक पनि समावेश छन्, राजदूत शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । आफूहरूले नेपालमा रहेका मृतक परिवारका सदस्यलाई सम्पर्क गर्न काम गरिरहेको राजदूत शर्माले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *