संसद्को चीर हरण

संसदीय व्यवस्थामा संसद् सबभन्दा शक्तिशाली अङ्ग मानिन्छ । बेलायती मोडेलको संसदीय व्यवस्थामा संसद्को भूमिकाका बारेमा अनेक किंवदन्ती रहेका छन् । बेलायतको सांसदले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन सक्दैन, अरू सबै काम गर्न सक्छ भनिन्थ्यो ।

सांसदले राजालाई मृत्युदण्ड दिने भनेर निर्णय ग¥यो भने पनि त्यसमा राजाले हस्ताक्षर गर्नुपर्छ, अस्वीकार गर्न मिल्दैन भन्ने प्रचार गरिएको थियो । त्यस्तो शक्तिशाली अङ्ग व्यवस्थापिका लाई हाम्रो देशमा भने पङ्गु बनाइएको छ । संसद्को गरिमा घटाउन, निरीह र पङ्गु बनाएर राख्नमा हाम्रा सांसदको सबभन्दा ठुलो हात छ । सांसदहरू उच्च मनोबल भएका छैनन्, नैतिकतालाई प्राथमिकतामा राख्दैनन् र निष्ठापूर्वक सांसदको दायित्व पुरा गर्दैनन् त्यही कारणले हाम्रो संसद् निरीह रमिताको रङ्गमञ्च बन्न पुगेको छ । संसद् अधिवेशनमा सांसदहरू आनन्दले निदाउने गरेको दृश्य बारम्बार सार्वजनिक हुन्छन् । हाजिर गरेर भत्ताको जोहो गरेपछि अधिवेशन छाडेर आफ्नो व्यक्तिगत काममा हिँड्ने, संसद्मै गफमा मस्त हुने गरेका घटनाले संसद्मा महत्त्वपूर्ण विषयमा गंभिर बहस छलफल हुँदैन भन्ने देखाउँछ ।

अझ एकले अर्काको चरित्रहत्या गर्ने, तुच्छ गालीगलौज गर्ने, तथ्यहीन आरोप लगाउने र सस्तो प्रचारबाजी गर्नेहरूको अखडा नै बनेको छ संसद् भवन । निजामती कर्मचारी विधेयक पारित गर्ने क्रममा भएको गलत हर्कतले संसद्को गरिमा मात्र समाप्त पारेन बरु हाम्रा सांसदको क्षमता र विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाइदियो । हुन त संसद्मा एकाध बहुलट्टी पात्र विगतमा पनि हुन्थे । तिनले संसद्लाई भद्दा मजाकको केन्द्र बनाउन खोज्थे। तर जान्नेलाई छान्ने, नो नट अगेन जस्ता फाल्तु नारा लगाएर सात सिट जितेको र समानुपातिक समेत गरेर एकाईस स्थान सुरक्षित गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवेश पछि त संसद् गाई जात्राको प्रहसन गर्ने थलोमा रूपान्तरण भएको छ । त्यहाँ अनेक नाटक गर्ने, आचारसंहिता, नियमावलीको धज्जी उडाउने, कानुन उल्लङ्घन र तथ्यहीन कुरा गरेर आफूलाई मन नपरेको संसद्को हुर्मत लिने काम भएको छ । रवि लामिछानेले गृहमन्त्रीको हैसियतले संसद्मा बोल्दा आफ्ना विरोधीलाई तुच्छ, घिनलाग्दा आफूलाई सही साबित गर्न खोजेका थिए । संसद्मा लामिछाने मार्काकै स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, तोसिमा कार्की, सोभिता गौतमहरू निद्रामा वर्वराए झैँ जे मन लाग्यो त्यही बोल्ने गर्छन् । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको हालैको स्पेन भ्रमणलाई लिएर सोभिता गौतमले प्रधानमन्त्रीको भ्रमण दलका केही सदस्यलाई स्पेनमै छोडेर आएको आरोप लगाइन् । त्यस्तो आरोपले राष्ट्रको इज्जतमा धब्बा लाग्छ ।

यदि प्रमाणित रूपमा त्यसरी बोलेको भए कति जना, के के नाम गरेका व्यक्तिलाई स्पेनमा छोडेर आएको भनेर भन्नुपथ्यो र सांसदले त्यसको सम्बन्धमा निर्णय गरी कारबाही पनि गर्नुपथ्यो । आरोप लगाउने, संसद्मा हङ्गामा गर्ने, ठुलो कुरा गरेर प्रचारबाजी गर्ने र राष्ट्रिय अस्मितामाथि खेलबाड गर्ने काममा रास्वपा निरन्तर प्रवृत्त छ । उपसभामुखले पैसा लिएर आफू अमेरिका जाँदा पाचजनालाई लान खोजेको कुरा सार्वजनिक भयो । त्यसमा सांसद सङ्ख्याको समीकरण नमिल्दा कारबाही हुन सकेन । उनले गरेको हस्ताक्षर सहितको चिठी सार्वजनिक हुँदा समेत त्यसलाई निर्लज्ज ढङ्गले तुहाइयो । सुमना श्रेष्ठले मन्त्री हुँदा मन्त्री क्वाटरमा विदेशी नागरिकलाई राखिन, सोभिता गौतमले स्वास्नी छोराछोरी भएको पुरुषसँग विवाह गरिन रास्वपाका कार्यवाहक सभापति म्यानपावर चलाउँछन् र भिजिट भिसामा सबभन्दा बढी मान्छे पठाउँछन् । रवि गृहमन्त्री हुँदा छोटो कार्यकालमा सबभन्दा बढी भिजिट भिसामा मान्छे उडाए । तर त्यसलाई बिर्सिएर अहिले भिजिटभिसामा गृहमन्त्रीको संलग्नताको प्रश्न उठाएर संसद्लाई बाधक बनाएको छ ।

संसद् भनेको पत्रु, चरित्र हीनहरूको फोहोरी गालीगलौज सुन्ने थलो होइन । जनताले आफ्ना वारेसलाई कानुन निर्माणको निम्ति जिम्मेवारी दिएर पठाएकाले स्वच्छ र पवित्र ढङ्गले विचार विमर्श गरी निर्णय लिने थलो हो । चरित्रहत्या गर्नेलाई पनि केही नहुने, देखादेखी प्रमाण हुँदा पनि कारबाही नहुने हो भने संसद्को मर्यादा र गरिमा कसरी बच्छ ? विचार गर्नु पर्ने विषय हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *