पत्रकारिताको एक फन्को !

सत्याग्रह साप्ताहिकले २६ बर्ष पूरा गरेर २७औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको यस अवसरमा सत्याग्रहका सम्पादक सीताराम ढुङ्गेलजीले मलाई यस साप्ताहिक संस्थापक सम्पादक प्रकाशकका नाताले केही कोरिदिन अनुरोध गर्नुभएको छ । मेरो पत्रकारिता क्षेत्रसङको संलग्नताको यात्रामा सत्याग्रह साप्ताहिक निश्चित रूपमा एक महत्त्वपूर्ण कोशेढुंगा हो । साँच्चै भन्ने हो भने पूर्ण जिम्मेवारी सहितको पहिलो गाथा हो । स्वाभाविक हो, सीतारामजीको अनुरोधलाई नकार्न मुस्किल छ । सन्जोगले पत्रकारिता जगतको एक अध्यायबाट भर्खरै अर्ध विश्राम लिएको अवस्था छ । म आज आफ्नै केही अनुभवहरूको बेली बिस्तार लगाउँदै छु ।

२०३७ सालको शुरुवातमा स्वर्गीय माथवर सिंह बस्नेत जन्मकैदबाट आममाफी पाएर छुटेर आउनुभयो । वैशाख २० गतेको दिन भएको जनमत सङ्ग्रहमा बहुदल पक्ष अप्रत्याशित ढङ्गले पराजित भयो । प्रजातन्त्रमा विश्वास राख्ने तत्कालीन पञ्चायत विरोधी प्रतिपक्ष अत्यन्तै कुना तर्फ धकेलिएको अवस्था थियो । साँच्चै भन्ने हो भने हताशको स्थिति थियो । त्यसमाथि बिपीको स्वास्थ्य अत्यन्तै नाजुक अवस्थामा पुगेको थियो । कुनै पनि बेला उहाँको जीवन ज्योति निभ्न सक्ने आशङ्का थियो । यस्तो अवस्थामा माथवरजीले पुनर्जागरण मासिक नाम गरेको पत्रीका निकाल्ने अठोट गर्नुभयो । स्वयं बिपी कोइरालाले लोकार्पण गर्नुभएको पुनर्जागरणको प्रकाशनसँगै पत्रकारिता क्षेत्रमा मेरो सानोतिनो नै भए पनि संलग्नता शुरू भयो । माथवरजीलाई आफ्नो क्षमता अनुसार सघाउने काम हुँदै गयो ।

४४ साल आउँदा सम्ममा माथवरजीले साप्ताहिक पत्रीका निकाल्ने प्रयास थाल्नु भयो । शुरूमा अन्य कसैको स्वामित्वमा रहेको बिश्वदूत र बिश्वसन्देश हुँदै एम शर्मा पौडेलको साप्ताहिक वार्तालाप सम्मको जिम्मेवारी सम्हाल्न थाल्नु भयो । सायद त्यस बेला मेरो नाम सहितको स्तम्भ प्रकाशित हुन थालेको थियो । विश्व समाचार संक्षेपबाट शुरू गर्दै खेलकुद सम्मको नियमित स्तम्भ लेखिन्थ्यो । छापामा पहिलो पल्ट नाम छापिएको दिन आफूले आफैलाई विश्वकै सबैभन्दा चर्चित व्यक्ति बने झैँ अनुभव भएको थियो । २०४५को भाद्र ५को भुईँचालो भन्दा ठिक पहिले अन्ततः पुनर्जागरण मासिकलाई साप्ताहिकमा परिणत गरेर माथवरजीको सम्पादनमा हाम्रो प्रत्यक्ष संलग्नतामा पत्रीका प्रकाशन शुरू भयो । त्यो साँच्चिकै मिसन पत्रकारिता थियो । नाफा नोक्सान वा व्यावसायिक लाभ हानी प्रति हाम्रो कम ध्यान रहन्थ्यो । प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा कसरी योगदान पुग्छ भन्ने नै ध्याउन्न रहन्थ्यो । हुन पनि प्रत्येक मङ्गलवार पुनर्जागरणले के लेख्छ भन्ने चासो सबैमा रहन्थ्यो । पुनर्जागरणलाई गणेशमान सिंहको सदाशयता र आशीर्वाद थियो । कतिपय अवस्थामा त हामीले गणेशमानजीलाई थाहै नभई उहाँलाई ‘उद्धृत’ सम्म गर्थ्यौँ ।

गणेशमानजीको भेटघाट आदिका बारेमा समाचार उत्पादनसम्म गर्थ्यौँ ! तर उहाँले कहिल्यै नकार्नु वा खण्डन गर्नुभएन । त्यो हदको विश्वास र भरोसा थियो । हामी बेला बेलामा एक आपसमा जिस्किन्थ्यौ पनि, ‘गणेशमानजीले हामीलाई लाइन दिने हो कि हामीले उहाँलाई’ ? ‘लाइन दिने’ काम दुवैतर्फबाट हुन्थ्यो । कतिपय अवस्थामा उहाँले चाहनुभएको कुरो प्रकाशित हुन्थ्यो भने कतिपय अवस्थामा पत्रीकामा प्रकाशित ‘समाचार’लाई अनुमोदन गरेर तदनुरूप व्यवहार उहाँले गर्नुहुन्थ्यो ! पुनर्जागरणसँग सम्बन्ध अनवरत चालू रह्यो । १९९१ देखि १९९३ सम्म र १९९७/९८ मा झन्डै एक बर्ष उच्च शिक्षा अध्ययनको लागि बिदेसिएको अवस्थामा बाहेक पुनर्जागरण मेरा लागि आश्रय स्थल रह्यो । माथवरजीले केही महिना अघि यो संसारबाट बिदा लिनुभयो भने मिसन पत्रकारिता कालका अग्रज एवं सहयात्रीहरू अनारसिंह कार्की, नरहरि आचार्य, शरच्चन्द्र वस्ती, गोविन्द अधिकारी र प्रह्लाद रिजाल आआफ्नै ढङ्गले सक्रिय हुनुहुन्छ ।

पत्रकारिताको ‘कीरो’ त मेरो दिमागमा थियो नै । विभिन्न मित्रहरूको उत्प्रेरणा र सहयोगले २०५५ सालमा आफ्नै सम्पादन एवं प्रकाशनमा सत्याग्रह साप्ताहिकको थालनी भयो । प्रजातन्त्र पुनर्स्थापना पछिको संक्रमणकालमा पत्रकारिता क्षेत्रमा व्यावसायिकताको ‘ग्ल्यामर’ फैलिँदै थियो भने आफू भित्र भने मिसन पत्रकारिताले जरो गाडेको थियो । आफ्नो स्वभावले एउटा गर्न खोज्थ्यो तर लाभहानीको बजारसङ सामञ्ज्यसता मिलाउन पर्दा निक्कै सकस पर्थ्यो । प्रत्येक सोमबार निस्कने अखबारका लागि आइतबार कागज किन्न धौ धौ ! त्यसैको जोहो गर्न कठिन । अन्य खर्च त छँदै छ ! ‘कमाउने’ धन्दामा त मिजासै तगारो भो ! मैले आफूले सत्याग्रह चलाउँदा अनारसिंह कार्की र शरच्चन्द्र वस्ती जस्ता हस्तीहरूको त साथ रह्यो नै स्वर्गीय चन्द्रलाल झा र स्वर्गीय हृषीकेश शाह जस्ता स्वनामधन्य व्यक्तित्वहरूको आशीर्वाद पनि प्राप्त भएको हो । २०६१ साल आउँदा नआउँदै सक्रिय प्रत्यक्ष पत्रकारिताबाट विश्राम लिइयो !

केही पछि सीताराम ढुङ्गेलको नेतृत्वमा सत्याग्रह निस्कन थाले पछि कलम चलाउने क्षुधा शान्ति चाहिँ आफ्नै नामबाट वा छद्मनामबाट सत्याग्रह मार्फत भई नै रह्यो । साथसाथै सामाजिक सञ्जाल र अन्य पत्रपत्रिका मार्फत आफ्ना बिचारहरू स्वतन्त्र ढङ्गले राख्ने प्रक्रिया अनवरत चालू रह्यो । यहाँ सम्मको यात्रामा जीविकोपार्जनका लागि शिक्षण र कन्सल्टेन्सी इत्यादिले मलाई धानेको हो ।

अनायासै २०८० असार १५ का दिन एउटा अस्वाभाविक मोड आयो । राजधानी दैनिकका तर्फबाट सचिन शेरचन र आशिष शेरचन एक अत्यन्तै पुराना मित्रलाई लिएर मेरो घर आइपुगे । अत्यन्तै कम भूमिका पछि एक्कासि मलाई राजधानी दैनिकको सम्पादक बनिदिन अनुरोध भयो । केही बेर त म अचम्मित भएँ । थोरै छलफल पछि आधा घण्टा भित्रै मैले स्विकारेँ र आफ्नो समितिताका बारेमा चाहिँ बताएँ । गत श्रावण ४मा मैले त्यो जिम्मेवारीबाट मुक्ति प्राप्त गरेको छु । राजधानीसँगको दुई वर्षको मेरो अनुभवले नयाँ कुरा सिक्ने मौका प्राप्त भयो । अब मिसन पत्रकारिताको थोरै पनि अंश बाँकी छैन ! ‘बिचार निर्माण र प्रक्षेपण’ भन्ने बस्तु व्यावसायिक लाभहानीले निर्देशित हुन्छ । अब लेखेर होइन, थोरै लेखेर रोक्ने वा लेख्दै नलेख्नुमा ‘उद्देश्य प्राप्ति’ हुन्छ । लेख्न सक्ने भन्दा ‘लेख्न जान्दछ तर लेख्दैन’ वा ‘भने अनुसार गर्छ’ भन्ने व्यक्ति ‘लोकप्रिय’ हुन्छ र त्यस्ता फाइदामा हुन्छन् जस्तो भान हुन थालेको छ । हेक्का रहोस्, यहाँ मैले ‘लेख्ने’ भन्दा छापालाई मात्र भनिरहेको छैन । छुद्र प्रतिस्पर्धाका बिच कसरी बाँच्ने ? व्यावसायिक बाध्यता र पेशागत इमानदारिता बिचको सन्तुलन कसरी कायम गर्ने ? यी प्रश्नहरूको जवाफ भविष्यले नै देला !

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *