प्रचण्ड–माधव एकताको नाटक, भ्यागुताको धार्नी मात्र

काठमाण्डौं । निर्वाचन आयोगले २०८२ फागुन २१ गतेको निर्वाचनको लागि दल दर्ताको लागी गरेको आहनको मिति सकिन लाग्दा राजनीतिक गतिविधि तीब्र भएको छ । पुराना दलहरुले आफ्नो अवस्था सुधार्न समान दृष्टिकोण हुनेहरुबिच एकता गर्ने, आफ्ना दलका कमिटीहरु लाई सक्रिय गराउने अभियान थालेका छन् । त्यस क्रममा वामपन्थी दलहरुबीच एकताको अभियान चलेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा नेकपा (एमाले) पछिको हैसियतको नेकपा एकीकृत माओवादीले चुनावलाई मध्येनजर गर्दै वामपन्थी दल र समूहबीच एकताको प्रक्रिया सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीसमेतका सातवटा साना–ठूला समूहबीच हिजो एकीकृत पार्टी निर्माणको घोषणा गरिएको छ । राजधानीको प्रदर्शनी मार्गमा भएको उक्त घोषणामा असहमतिको स्वर पनि प्रष्टै सुनियो । माओवादीभित्रै प्रचण्डको विकल्प खोज्ने नेता जनार्दन शर्मा (प्रभाकर)ले त्यो एकतालाई चुनौति दिँदै विद्रोहको झण्डा उठाएका छन् । उता, यो एकता प्रक्रियाको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एकताको प्रक्रियामा सामेल हुने विवादलाई लिएर तीन टुक्रा भएको छ । पार्टी अध्यक्ष रहेका माधव कुमार नेपाल र उनको समूहले माओवादीसँग एकता गरेको छ भने महासचिव घनश्याम भुसालहरुले छुट्टै समूह गठन गरेका छन् । दुवै पक्षमा नलाग्ने पूर्व सांसद् कृष्ण कुमार श्रेष्ठ (किसान)समेतको टोली नेकपा एमालेमा प्रवेश गरेको छ । यसरी चुनावी स्थिति सुधार्न माओवादीले थालेको एकता प्रक्रियाबाट सुरुमै विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अलग भइसकेको छ । अंक गणितीय रुपमा प्रचण्डको प्रयासले सफलता पाएको देखिए तापनि यसबाट उनको समूहलाई अपेक्षित लाभ भने मिल्न नसकेको देखिन्छ । चुनाव जित्न नसक्नेहरुको संख्या थप्नुभन्दा चुनाव जित्ने सामथ्र्य भएका एकीकृत समाजवादीका केही अनुहार र प्रचण्ड नेतृत्वका केही नेताहरु बाहिरिएका छन् । त्यसले माओवादीलाई लाभन्दा हानी नै बढी भएको प्रस्ट देखिन्छ । जनार्दन शर्मा पार्टीबाट बाहिरिँदा सुनिश्चित रुपमा चुनाव जित्ने आधा दर्जन स्थानमा चुनाव हार्न सक्ने देखिन्छ । रुकम, सल्यान, जाजरकोट, कालीकोटसमेतका माओवादी आधार क्षेत्र मानिने चुनाव क्षेत्र र माओवादीको जित हुन सक्ने देशका अन्य क्षेत्रमा पनि चुनावमा पराजय हुन सक्ने सम्भावना बढेर गएको छ । अघिल्लो चुनावमा माओवादीको जित सुनिश्चित भएको रौतहटमा प्रभु साहले विद्रोह गरी चुनाव जितेका थिए । त्यसैगरी टोपबहादुर रायमाझीले अर्घाखाँचीमा एमालेबाट चुनाव जितेका थिए । हुनत त्यस्तो स्थिति अरु पार्टीमा पनि नआउने चाहीं होइन । सर्लाहीमा कांग्रेसबाट टिकट नपाएपछि अमरेश कुमार सिंहले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर जित हात पारेका थिए । चुनावमा विद्रोह गर्ने, हार्ने र जित्ने कुरा त स्वभाविक नै हो । तर, ठूलो पार्टी बनाउन र सरकार गठन गर्ने गरी संसदमा स्थान जित्न गरिने एकता पनि कहिलेकाँही समयानुकूल नहुँदा प्रत्युत्पादक हुने गरेका छन् । अहिले माओवादीले गरेको एकता झन्डै त्यस्तै देखिएको छ । माओवादीलाइृ द्वन्द्वकालमै सिध्याउन चाहने माधव नेपालहरुलाई भित्र्याउँदा द्व्रन्द्वकालका कमाण्डर जनार्दन शर्माहरु बाहिरिनु माओवादीका लागि लाभन्दा ज्यादा हानी नै हुने निश्चित देखिन्छ । माओवादीमा पार्टी अध्यक्ष प्रचण्डपछि व्यक्तिगत रुपमा सबभन्दा बढी कार्यकर्ताको समर्थन प्राप्त शर्मा पार्टीबाट बाहिरिन त्यो पार्टीको लागि दूर्भाग्य नै मान्नुपर्छ । चुनावकै मुखमा पार्टी एकीकरण र विभाजनले राजनीतिक दलहरुलाई प्रभावित पार्ने निश्चित छ । तर, वामपन्थीहरुबीच हुने त्यस्तो एकता भने दीगो नहुने विगतको अनुभव छ । स्थापना कालदेखि नै फुट र विभाजनको इतिहास भएको नेपाली वामपन्थी आन्दोलनमा सैयौं पटक फुट भइसकेको छ । वि.सं. २०१८ सालको दरभङ्गा प्लेनमबाट सुरु भएको संस्थागत विभाजनको अझै पूर्णबिराम भएको छैन । पछि विस्तारै एकीकरण र एकताको प्रक्रिया सुरु भए पनि नेपाली वामपन्थीमा मूल प्रवृत्ति विभाजनकै रह्यो । झापा काण्डपछि को–अडिनेसन केन्द्रको नाममा गठित समूहले थालेको एकीकरण अभियान २०३५ सालमा माले गठन गर्दासमेत आधा दर्जन स–साना समूह त्यो प्रभावमा मिसिइसकेका थिए । दङ्गाली सन्देश समूह, पुष्पलालसँग विद्रोह गरेको मुक्तिमोर्चा समूह, पूर्वको रातो झण्डा आदि स–साना गु्रप नेकपा मालेमा सामेल भएका थिए । त्यही समूहले २०४६ को आन्दोलनपछि सहाना–मनमोहन समूह भनेर चिनिने माक्सवादीसँग एकता गरी २०४७ सालमा नेकपा एमाले गठन गरेको थियो ।

२०४७ देखि आजसम्म एमालेमा पनि कैयौंपटक विभाजन भइसकेको छ । एकताको एकाध वर्षमै पार्टीभित्रको भेदभावपूर्ण व्यहारका कारण केशरमणि पोखरेल समेतले विद्रोह गरी ‘पन्ध्र सेप्टेम्बर’ समूह गठन गरेपछि रोपिएको विभाजनको विजककै कारण सिपी, बामदेवले एमाले टुक्र्याएर गठन गरेको माले र माधव–झलनाथले दोस्रो पटक गराएको ठूलो विभाजनपछि बनेको एकीकृत समाजवादीले पनि वामपन्थी विभाजनको श्रृखंला अटुट रुपले जारी रहेको प्रष्ट गर्छ । उता कुनै समयको नेपाली वामपन्थी आन्दोलनको सबभन्दा सशक्त र प्रभावकारीता धारा नेकपा –चौथो महाधिवेशन) मा भएको पटक पटक फुट र एकताले पनि नेपाली वामपन्थी आन्दोलनको चरित्रलाई राम्ररी चित्रण गर्दछ । ३० र ४० को दशकको नेपालको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी चौम २०३९ र २०४२ मा विभाजित भएपछि स्वतः कमजोर भएको थियो । पछि २०४७ सालमा एकीकरण प्रक्रियाबाट गुज्रिएको सो समूह एकता केन्द्र हुँदै माओवादीसम्म हुँदा पनि देशको मूलधारको वामपन्थी दल बन्न सकेको छैन । यद्यपी, २०६४ सालको संविधानसभामा माओवादी देशकै ठूलो दलको रुपमा संविधानसभामा उपस्थिति जनाउन भने सफल भएको थियो । तर, त्यो फगत…. को न्यायो मै सीमित रह्यो । यसपछि माओवादीमा मोहन वैद्य, बाबुराम भट्टराई समेत गरेर आधा दर्जन पटक विद्रोह गरी विवाजित भइसकेका छन् भने अनेक साना ठूला समूह त्यस पार्टीमा समाहित पनि भएका छन् । ठूला भनिने एमाले र माओवादीमा फुट–विभाजन र एकताको प्रक्रिया जारी रहे पनि ती दलहरु वैचारिक सैद्धान्तिक रुपले भने पतन भइसकेका छन् । अहिले एमाले र माओवादीलाई कम्युनिष्ट पार्टी र हसियाँ हतौडाको झण्डा घाँडो भएको छ । त्यो कुरा दुवै ठूला समूहले प्रष्ट महसुस गरेको देखिएको छ । र, पनि भोटबैंक गुम्ने डरले दुवै समूहले नाम र झण्डा फेर्ने आँट गर्न सकेका छैनन् । नाम र झण्डामा मात्र कम्युनिष्ट रहेका प्रायः सबै समूह विगतमा सरकारमा सामेल भइसकेका छन् । सरकारमा गएर तीनले राष्ट्र र जनताका हीतका लागि माखोसम्म मार्न नसकेको कुरा जग जाहेर छ । बरु कम्युनिष्टको नाम लिएर तिनले भ्रष्टाचार र राष्ट्रघातको इतिहासनै रचेका छन् । माओवादीले १० वर्षे द्वन्द्वकालमा गरेको जनहत्यालाई सरकारमा गएपछि भिन्न रुपले जारी राख्यो । एमालेले पनि कैयौं पटक प्रशासनिक शक्ति लगाएर जनताको हत्या गरेको छ । त्यसैले चुनावका लागि अहिले माओवादीले रचेको एकताको नाटकप्रति जनतामा नत कुनै आकर्षण छ न उत्साह नै । जनताको त कुरै छाडौं यस प्रक्रियाबाट स्वयं तिनै दलका कार्यकर्तामा पनि कुनै हौसला प्राप्त भएको देखिँदैन । एकताको मामिलामा भएको विवाद र विभाजनले पनि त्यही तितो सत्यलाई इंगित गर्छ । अहिले प्रचण्डकै कार्यकर्ता समेत माधव नेपाललाई कुहिएको आलु भनेर विरोध गरिरहेका छन् । कार्यकर्ताको यो तमासा बढ्दै गए छिट्टै पुनः विभाजनको स्थिति आइलाग्ने निश्चित छ । विगतमा कम्युनिष्ट एकतालाई ‘भ्यागुताको धार्नी’ भनिथ्यो सायद यो नाटक पनि ‘भ्यागुताको धार्नी’ नै हुनेछ । कदाचित निर्वाचन भइहाल्यो भने यो ‘भ्यागुताको धार्नी’को प्रतिविम्व प्रष्ट देखिने छ । जनताको लागि केही नगर्ने चुनाव जित्न एकताको नाटक गर्ने प्रवत्तिकै कारण दलहरुले आजको बद्नियतपूर्ण स्थितिको सामना गर्नुपरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *