ज्योति समूहको हिमाल स्टिलको पनि मेल्टिङ प्लान्ट
काठमाडौं। ज्योति ग्रुपले परवानीपुरमा दुई अर्ब लगानीमा मेल्टिङ प्लान्ट लगाउन थालेको छ । समूहसँग ६० वर्ष अघि स्थापना भएको प्रिमियम डन्डी उत्पादन गर्ने हिमाल स्टिल छ । त्यही उद्योगभित्र समूहले मेल्टिङ युनिट लगाएको हो। समूहका अध्यक्ष डा. रुप ज्योतिले मेल्टिङ प्लान्टको काम आधा सकिएको बताए । मेल्टिङ प्लान्टको काम झण्डै आधा सकिएको छ । बैंकमा तरलता अभावले हामीलाई पनि केही समस्या भएको छ त्यसले गर्दा केही ढिलाइ भएको छ । गत आर्थिक वर्षको प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले ’स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शून्यमा झारेपछि समूहले बिलेट प्लान्ट लगाउने कामलाई तीव्रता दिएको थियो। शर्माले मूल्य अभिवृद्धि गर्ने उद्देश्यले आयातित बिलेटमा लाग्ने अन्तःशुल्क समेत बढाएपछि डन्डी उद्योग बिलेट लगाउने प्रतिस्पर्धा सुरु भएको थियो। हिमालजस्ता पुराना उद्योगले सुरुमा स्पन्ज आइरनको भन्सार शून्य बनाउने र बिलेटको अन्तःशुल्क बढाउने योजना तत्काल लागु नगर्न र ६ महिना समय दिन माग गरेका थिए । यो मागमा अब केही उद्योग मात्रै बाँकी छन्। ज्योतिका अनुसार उनको उद्योगमा साढे पाँच सय जनाले रोजगारी पाउनेछन्। उद्योगका लागि ७५ केभीए क्षमताको विद्युत चाहिन्छ । उद्योगबाट पहिलो फेजमा वार्षिक १ लाख २० हजार टन उत्पादन क्षमता छ । तर बजारमा माग बढ्दै गएमा २ लाख टनसम्मको उत्पादन क्षमता बढाउन सकिने ज्योति बताउँछन ्। हामीसँग आफ्नै सेल्स नेटवर्क छ । यसले बजारमा बिक्री गर्ने क्षमता पनि छ, उनले भने, त्यसैले हामीलाई क्षमता बढाउन कुनै कठिन छैन । उनले प्रिमियम स्टिल बेच्ने भएकोले उपभोक्ताको ठूलो विश्वास रहेको बताउँदै बजारमा आक्रामक रूपमा जान कुनै समस्या नरहेको जिकिर गर्छन्। हामीले डन्डीको किलोमा दुई रुपैयाँ घटाएर बिक्री गर्न थाल्यौ भनी माग कति बढ्छ बढ्छ, उनले भन े। प्रिमियम ब्लेड भएकै कारण हिमालबाट उत्पादित डन्डी केही महँगो भएपनि ग्राहकको विश्वास भने कायम रहेको बताए । हामीले प्राइम ब्लेड बनाउँछौं। हामी जोखिम मोल्न सक्दैनौं। ग्राहकले हामीलाई गुणस्तरबाट चिनेको हो। यसलाई निरन्तरता दिन खोजेकाले मेल्टिङ युनिटमा अलि धेरै कस्ट निस्किएको हो, उनले भन े। ज्योतिले सरकारले स्पन्ज आइरनमा दिएको सहुलियतकै कारण मेल्टिङ युनिट राख्नुपर्ने बाध्यता भएको बताउँदै भने यो व्यवस्थाले राम्रो पनि गरेको छ । कम्पनीले वार्षिक ५० हजारदेखि ६० हजार टन डण्डी उत्पादन र बिक्री हुँदै आएको जनाएको छ । आगामी दिनमा १ लाख २० हजार टनदेखि २ लाख टनसम्म बिक्री गर्ने योजना बनाएको छ । अर्थमन्त्री शर्माले स्पन्ज आइरनमा लाग्दै आएको ५ प्रतिशत भन्सार पूर्णरूपमा हटाइदिएका थिए भने भने बिलेटमा लाग्ने अन्तःशुल्क भने प्रतिटन १६सय ५० रुपैयाँबाट २५सय रुपैयाँ पु¥याएका थिए । शर्माको यो नीतिले कर नीतिले बिलेट ल्याएर रोलिङ मात्रै गर्दै आएका डन्डी उद्योगहरुलाई समेत स्टील बिलेट उत्पादन क्षमतासहितका ठुला उद्योगहरुसँग मूल्य प्रतिस्पर्धामा टिक्नका लागि बिलेट उत्पादन गर्नुपर्ने बाध्यता सिर्जना भयो। यो नीतिले कच्चा पदार्थ आयात वा नेपालमै फलामको धाउ उत्खनन तथा प्रशोधन गरेर बिलेट उत्पादन गर्नलाई भने प्रोत्साहित गरेको छ । अर्थतन्त्रमा दीर्घकालीन लाभ र अतिरिक्त मूल्य सिर्जना (भ्यालु एडिसन) मा यसको प्रभाव सकारात्मक भयो। नेपालमै बिलेट उत्पादन हुँदा अर्थतन्त्रमा त्यसको ’स्पिल ओभर’ प्रभाव विद्युत खपतदेखि रोजगारी सिर्जनासम्म भयो। यो नीतिले नेपाली उद्योगको क्षमता बढ्दा सरकारको राजस्वमा वृद्धि हुने, स्थानीय रोजगारी सिर्जना बढ्ने, विद्युत खपत वृद्धि, फर्नेस आयल प्रतिस्थापन, व्यापार घाटा कम गर्ने हुँदा यसले स्टिल उद्योग क्षेत्रको समग्र औद्योगिकरण र भ्यालु एडिसनमा सघाउनुका साथै देशको कुल गार्हस्थ उत्पादन वृद्धिमा पनि सकारात्मक प्रभाव पर्ने देखिएको छ ।