समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको सूची तयार गर्न राजनीतिक दललाई सकस

काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मतगणना सम्पन्न भएपछी अहिले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची तयार गर्न राजनीतिक दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगमा सूची बुझाउने दिन नजिकिँदै गर्दा आकांक्षीको दौडधुप बढेकाले नेतृत्वपंक्ति दबाबमा छ । 

आयोगले समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारको नाम शनिबार ४ बजेभित्र पठाउन दलहरूलाई पत्र लेखेको छ । संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरूले नाम छान्नुपर्नेछ । प्रत्यक्षमा थोरै महिलालाई टिकट दिएको र तीमध्ये अधिकांश पराजित भएकाले संघीय संसद्मा एक तिहाइ हिस्सा पुर्‍याउन समानुपातिकमा अधिकांश महिला छान्नुपर्नेछ ।

महिला सांसद संख्या ३३ प्रतिशत पुर्‍याउनुपर्ने भएकाले राष्ट्रिय मान्यता प्राप्त सात दलले समानुपातिकको ११० सिटमा बढीमा ३५ मात्रै पुरुष छान्न पाउँछन् । त्यसमा पनि कुन समूह (क्लस्टर) बाट कति प्रतिनिधित्व गराउनुपर्ने भनेर आयोगले तोकिदिएको छ ।

दलहरूले निर्वाचित हुने उम्मेदवार छान्दा बन्द सूचीको क्रम मिच्न पाउँदैनन् तर संख्या न्यून हुनाले कुन समूह रोज्ने भन्ने विकल्प छ । कुनै समूहबाट पुरुषलाई रोज्दा त्यही समूहअन्तर्गत महिलाको नाम काटिन सक्छ, अर्को समूहबाट पुरुष बाहिरन सक्छ । त्यही कारण आफू छानिन वा सुरक्षित रहन उम्मेदवारहरूले शीर्ष नेताहरूको घरदैलो गरिरहेका छन् ।

प्रत्यक्षमा चार महिला जिताएको एमालेले समानुपातिकका ३४ सिटमध्ये १५ सिटमा पुरुषलाई निर्वाचित गराउन सक्छ । समानुपातिकमा ३२ सिट पाएको कांग्रेसले ३ जनाभन्दा बढी पुरुष छान्न पाउँदैन । माओवादीले समानुपातिकको १४ सिटमध्ये २, राप्रपाले ७ सिटमा २ र जसपाले ५ सिटमा १ जनाभन्दा बढी पुरुषलाई निर्वाचित गराउन पाउँदैनन् । प्रत्यक्षमा दुई महिला निर्वाचित गराएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने समानुपातिकको १३ सिटमध्ये ८ मा पुरुष छान्न सक्छ ।

कांग्रेसमा आदिवासी जनजाति पुरुष समूहमा गोपालमान श्रेष्ठ, खस आर्य पुरुषमा प्रकाशशरण महत, थारू पुरुषमा योगेन्द्र चौधरी, दलित पुरुषमा जीवन परियार, मधेसी पुरुषमा बिमलेन्द्र निधि, मुस्लिम पुरुषमा फरमुल्लाह मन्सुर १ नम्बरमा छन् । उनीहरू उपल्लो तहका नेता हुन् ।

एमालेले समानुपातिकमा आदिवासी जनजाति १०, खस आर्य ११, थारू २, दलित ५ र मुस्लिम १ जना छनोट गर्नुपर्ने हुन्छ । एमालेले तयार पारेको प्रारम्भिक प्रस्तावमा खस आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातितर्फ ५ महिला र ५ पुरुष, मधेसीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारूतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने उल्लेख छ । प्रारम्भिक प्रस्तावमा सचिवालय बैठकले शुक्रबार छलफल एवं निर्णय गर्ने एमालेका एक नेताले बताए ।

माओवादीमा पुरुष आकांक्षी धेरै भए पनि २ जनाभन्दा बढी पुरुष समानुपातिक सांसद हुन पाउँदैनन् । राष्ट्रिय सभासहित संघीय संसद्मा ४७ सांसद रहने माओवादीमा महिला १६ जना पुग्नुपर्छ । प्रतिनिधिसभाको प्रत्यक्षमा रेखा शर्माले मात्रै जितेकी छन् । राष्ट्रिय सभामा तीन महिला छन् । त्यसैले समानुपातिकमा पाएको १४ जनाको कोटाबाट कम्तीमा १२ जना महिला छान्नैपर्छ । माओवादीको बन्द सूचीमा पुरुषतर्फ आदिवासी जनजातिमा अजम्बर राई, खस आर्यमा हितराज पाण्डे, थारूमा सुनीलकुमार भगत, दलितमा रणेन्द्र बराली, मधेसीमा रामेश्वर राय यादव, मुस्लिममा हकिकुल्लाह खाँ १ नम्बरमा छन् । तर उनीहरूमध्ये दुई जनाभन्दा बढी सांसद हुन पाउँदैनन् । ‘जनसंख्यामा बाहुल्य भएको समूहलाई पहिलो प्राथमिकता दिन्छौं । त्यसपछि मधेसी, दलित, अल्पसंख्यक हेर्छौं,’ माओवादीका नेता लीलामणि पोखरेलले भने, ‘आयोगले अल्पसंख्यक, अपांगता र पिछडिएका क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा क्रमसंख्यामा तल भए पनि मिल्ने आधार तय गरेको छ । यसलाई ख्याल गर्छौं ।’

प्रत्यक्षमा दुई महिलासहित ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक १३ सिट पाएको छ । राष्ट्रिय सभामा उसको प्रतिनिधत्व छैन । स्वतन्त्र पार्टीले महिला र पुरुष गरी आदिवासी जनजाति ३, खस आर्य ४, थारू १, दलित २, मधेसी २ र मुस्लिम १ जना छान्नुपर्छ तर महिलाको संख्या ५ भन्दा घटी हुनु हुँदैन । त्यसमा आदिवासी, खस आर्य, थारू, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रमध्येबाट रोज्ने अधिकार दललाई छ । समानुपातिकमा ७ सिट पाएको राप्रपाले ५ जना महिला छनोट गर्नुपर्ने हुन्छ । राप्रपाले समानुपातिकको बन्द सूचीमा कसलाई पहिलो प्राथमिकतामा राख्ने भनेर आन्तरिक निर्वाचनसमेत गरेको थियो । राप्रपाको पहिलो प्राथमिकतामा पुरुषतर्फ खस आर्यमा पशुपतिशमशेर जबरा र आदिवासी जनजाति समूहबाट बुद्धिमान तामाङ छन् । राप्रपाले आदिवासी जनजाति कम्तीमा २, बढीमा ३, खस आर्य पनि कम्तीमा २ र बढीमा ३ जना छनोट गर्न सक्छ । सिट थोरै भएकाले थारू, दलित, मुस्लिम, पिछडिएको क्षेत्रबाट छनोट नगर्ने छुट राप्रपाले पाएको छ । मधेसीबाट कम्तीमा १ जना, बढीमा २ जनासम्म छनोट गर्नुपर्ने हुन्छ । जनता समाजवादी पार्टीले समानुपातिकमा ५ सिट पाएको छ । त्यसमा १ जना मात्रै पुरुष पर्न सक्छन् । जसपाले आदिवासीबाट कम्तीमा १ र बढीमा २ तथा खस आर्यबाट कम्तीमा १ जना छनोट गर्नैपर्ने हुन्छ । थारू, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रबाट एक जनासम्म छनोट गर्ने छुट उसलाई छ । १ जना पुरुष आदिवासी जनजातिबाट छनोट गर्दा रत्नध्वज लिम्बू, खस आर्यबाट रोजे प्रकाश अधिकारी, मधेसी समूह छाने मिथिलेशकुमार सिंह पर्न सक्छन् ।

जनमत पार्टीले समानुपातिकमा ५ सिट पाएको छ । त्यसमा २ महिला र ३ पुरुष छनोट गर्नुपर्छ । प्रत्यक्षमा उसको १ सिट छ । ‘हामी शुक्रबार समानुपातिक सांसद चयन गरिसक्छौं,’ जनमत पार्टीका महासचिव चन्दन सिंहले भने । दलहरूले शनिबार बुझाउने विवरणमा नियमअनुसार समूह नमिले सोमबारसम्म सच्याउन पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *