बागमतीमा सरकार विस्तारको किचलो, कांग्रेसलाई ६ मन्त्रालय चाहिने, माओवादी पाँचमुनि नझर्ने
काठमाडौं । केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकारमा पनि उथलपुथल भएको छ । जसकारण सबै प्रदेशमा सरकार अस्थिर बनेको छ ।
माओवादी केन्द्र एमालेसँगको गठबन्धन छाडेर कांग्रेससँग नयाँ समीकरण बनाउन आएपछि केन्द्रसहित सबै प्रदेशमा सरकार परिवर्तन हुन लागेको हो । केही प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुँदैछ भने केहीमा मन्त्रीहरू मात्र फेरबदल हुने भएका छन् ।
कर्णाली, बागमती र मधेस प्रदेशमा सरकारको नेतृत्व परिवर्तन नहुने भएको छ । जहाँ मन्त्रीमात्रै परिवर्तन हुनेछन् । गण्डकी, लुम्बिनी र कोसी प्रदेशमा भने सरकारको नेतृत्व नै परिवर्तन हुने देखिएको छ । सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसले नेतृत्व गरेको तर मन्त्रिपरिषद् विस्तार भने हुन सकेको छैन । यस्तो घटना बागमतीमा पनि देखिएको छ ।
सुदूरपश्चिममा माओवादीकै अडानले सरकारले पूर्णता पाएको छैन । बागमतीमा भने कांग्रेस र माओवादीको अडानले मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुँदै गएको छ । लुम्बिनी, कर्णाली, गण्डकी र कोसी प्रदेशमा भने एमाले अझै पनि सरकारमा सहभागी छ । एमाले मधेस प्रदेशबाट भने बाहिरिएको छ । त्यहाँ अब कांग्रेस र एकीकृत समजवादी सरकारमा सामेल हुनेछन् ।
विश्वासको मत पाएको दुई साता बितिसक्दा पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेल कांग्रेसको बाटो कुरिरहेका छन् । विगत १० दिनदेखि सरकारको भागबन्डा टुङ्ग्याउन प्रदेशका गठबन्धन दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादी जुटे पनि आइतबार बिहानसम्म सहमति हुन सकेको छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय माओवादीले सम्हालिरहेको छ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टीको दाबी १४ वटा मन्त्रालय पुगिसकेको छ । तर, ११ वटा मन्त्रालय मात्रै रहेकाले दाबी संख्या घटाउनुपर्ने अवस्था छ । ६ वटा मन्त्रालयमा कांग्रेस, एकीकृत समाजवादीले तीन र हाम्रो नेपाली पार्टीले एकवटा मन्त्रालयमा दाबी गरेको हो ।
गठबन्धनका दलहरूबीच भागबन्डा टुङ्ग्याउन मुख्यमन्त्री जम्मकट्टेल र कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले सात सदस्यीय कार्यदल गठन गरेका थिए । कांग्रेस दलको उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा गठित कार्यदलले आधा दर्जन बैठकबाट पनि भागबन्डा टुंगोमा पुर्याउन नसकेपछि सरकार विस्तार अनिश्चित बन्दै गइरहेको हो ।
कांग्रेसले ६ मन्त्रालय नछाड्ने र माओवादीले पाँचवटा मात्रै दिन सक्ने विषयले सरकार विस्तार रोकिएको हो । बागमती प्रदेशसभामा कुल सातवटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१ र राप्रपाको १३, एकीकृत समाजवादीसँग सात, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई मत छ । एक सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद भए पुग्छ ।