राष्ट्रिय शिक्षा पुरस्कार १६७ जनालाई,निजीतर्फ प्रसादी एकेडेमी प्रथम


काठमाडौं। यस वर्ष सामुदायिक विद्यालयतर्फ सिन्धुलीको दुधौलीस्थित कमला माध्यमिक विद्यालय राष्ट्रियस्तरमा पहिलो भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजाका आधारमा देशभरका सामुदायिक विद्यालयमध्येबाट कमला मावि पहिलो भएको हो। उसले राष्ट्रिय शिल्ड, ध्वजा र ३ लाख रुपैयाँ पुरस्कार पाएको छ। सिन्धुलीकै कमलामाई(४ स्थित कमला माध्यमिक विद्यालय द्वितीय र सल्यानको कुमाख २ स्थित नारायण माध्यमिक विद्यालय तृतीय भएका छन्। द्वितीय हुने कमला माविले २ लाख र तृतीय हुने नारायण माविले १ लाख रुपैयाँ पाएका छन्। निजी विद्यालयतर्फ ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी प्रथम भएको छ। यस्तै काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेज द्वितीय र बुढानीलकण्ठ ५ स्थित बुढानीलकण्ठ स्कुल तृतीय भएका छन्। निजीतर्फका तीन वटै विद्यालयले सार्वजिनक विद्यालयले सरह शिल्ड र पुरस्कार पाएका छन्।
प्राविधिक शिक्षालयतर्फ रूपन्देहीको तामनगरस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको बुढीगंगास्थित मनमोहन मेमोरियल पोलिटेक्निक, झापाको दमकस्थित लाइफ लाइन अस्पताल र विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले १र१ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‍ले सञ्चालन गरेको परीक्षाको नतिजा र शैक्षिक क्रियाकलापका आधारमा ती चार शिक्षालयलाई पुरस्कृत गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। क्याम्पसतर्फ राष्ट्रियस्तरमा पुल्चोक क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र काठमाडौं मोडेल कलेज उत्कृष्ट ठहरिएका छन्। विश्वविद्यालय अनुदान आयोगको मूल्यांकनका आधारमा आंगिकतर्फ पुल्चोक, सामुदायिकतर्फ लुम्बिनी वाणिज्य र निजीतर्फ काठमाडौं मोडेल कलेज उत्कृष्ट ठहरिएका हुन्। ती तीन वटै क्याम्पसलाई २ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।


शिक्षा दिवसको अवसर पारेर उत्कृष्ट विद्यालय, प्राविधिक शिक्षालय र क्याम्पसलाई पुरस्कृत गरिएको हो। मन्त्रालयले यस वर्ष राष्ट्रिय शिक्षा पुरस्कार १ सय ६७ जनालाई दिने निर्णय गरेको छ। मन्त्रालयले विश्‍वविद्यालयका शिक्षक तथा कर्मचारीतर्फ २५ जना, प्राविधिक शिक्षालयका कर्मचारीतर्फ ५ जना, सार्वजनिक विद्यालयका शिक्षकतर्फ ७२ जना, विद्यालय कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी र प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्तातर्फ ३४ जना र निजी विद्यालयका शिक्षक कर्मचारी र संस्थापकतर्फ ३१ जनालाई पुरस्कार दिने भएको हो। मन्त्रालयले पुरस्कारका लागि छनोट गरिएका शिक्षक, कर्मचारी र सञ्चालकको नाम सार्वजनिक गरेको छ। सामुदायिक विद्यालयका शिक्षकतर्फ कोशीमा १३, वाग्मतीमा १३, गण्डकीमा ११, लुम्बिनीमा १२, कर्णालीमा १० र सुदूरपश्चिममा ९ जना छानिंदा मधेस प्रदेशबाट ४ जना मात्र छनोटमा परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *