अविश्वासी दाहालले विश्वासको मत माग्ने !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका छन । दाहाल सरकारको सबभन्दा ठुलो घटक नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) ले सरकार छाडेर विश्वासको मत फिर्ता लिएपछि बाध्य भएर उनले विश्वासको मत लिनुपरेको हो । दुई बर्षे कार्यकालमा दाहालको यो पाचौँ पटक विश्वासको मतका लागि प्रस्ताव हो । यसअघि चार पटक उनले विश्वासको मत पाए पनि उनले विश्वासको मत दिनेलाई विश्वास दिलाउन भने सकेनन् ।

एमालेले दाहालको साथ छाडेर नेपाली कांग्रेससँग गठबन्धन बनाउने निर्णय गरेपछि उनी नेपाली कांग्रेससँग भन्दा बढी एमालेसँग आक्रोशित भए । उनले ओलीलाई झुठ बोल्ने र धोखेबाज भएको बताउँदै आफु सिधा कुरा गर्ने, लप्पन छप्पन नजान्ने भएको बताएका छन् । तर यथार्थ भने फरक खालको छ । पुष्पकमल दाहाल पार्टीभित्र होस वा सत्ता राजनीतिमा फट्याइँ , ध्रुत्याइँ र वेइमानीको पर्याय मानिन्छन । उनले पार्टीभित्र आफ्नो प्रतिद्धन्द्धीलाई सिध्याउन अनेक तिकडम रचेका छन । मोहन बैध, रामबहादुर थापा , डा. बाबुराम भट्टराईजस्ता ठुलो हैसियत भएकालाई मात्र होइन , रबीन्द्र श्रेष्ठ , मणि थापा, यनप्रसाद गौतमजस्ता उदयमान कार्यकर्तालाई मार्गबाट हटाउन पनि षड्यन्त्रकै सहारा लिएका थिए । बैधसँगको द्धन्द्धमा आफुलाई सुरक्षित गराउन उनले नारायणकाजीको एकताकेन्द्र मसालको सहारा लिएका थिए । पार्टीभित्र बहुमत पुर्याउन र बैद्यहरुलाई पाखा लगाउन उनले चालेको कदम कालान्तरमा गएर आफ्नै लागि प्रत्पुपादक बन्यो । अहिले माओवादीसँग कुनै नैतिकता इमान, निष्ठा भन्ने चिज बाँकी रहेन । आदर्श सिद्धान्त, नीति कार्यक्रम र तदनुरुपको व्यवहार त माओबादीका कुनै पनि घटकसँग बाकी थिएन ।

अब सत्ताको लागि जे पनि गर्ने, चौबिसघण्टामा चौविस पटक कुरा फेर्ने, सत्ता र सम्पतिका लागि जे पनि गर्ने छबि बनाएका दाहालले विश्वासको मतका लागि प्रस्ताव गर्नुभन्दा राजीनामा दिएर मैदान खाली गराइदिएको भए इज्जत रहन्थ्यो । साना दललाई फुटाउने र सगौरब आफुले फुटाएको घोषणा गर्ने मानिलिउँ त्यो भन्दा ठुलो पौरख अरु हुनै सक्दैन । आफ्नो स्वार्थ अनुकुल साना दलहरुलाई आफ्नो पछि लगाउने, एमाले र कांग्रेसलाई जुधाएर आफुले फाइदा लिइरहने आफ्नो चरित्रलाई छोप्न अहिले एमाले र कांग्रेसलाई आरोपित गरिरहेका छन । त्यसमा पनि उनी एमाले र त्यसका अध्यक्ष खड्ग ओली तारो बनेका छन । सकेसम्म ओलीको हातमा सत्ता नजावस भनेर उनी आकाश पाताल एक गर्ने कोशिस गरिरहेका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई विश्वास नगरेपछि कांग्रेसभित्रको अर्काे धार शेखर कोइरालाको पछि लागेका छन् । उनको एउटै लक्ष छ , खड्ग ओलीलाई रोक्नु । तर कांग्रेसको नेतृत्व ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा एकमत छ । त्यसले गर्दा दाहालको प्रयास व्यर्थ जाने निश्चित छ । अविश्वसनीय छविका दाहालले बाबुरामलाई द्धन्द्धकालमा नियन्त्रणमा लिने, राजा ज्ञानेन्द्रसँग मिलेर सरकारमा जाने , राजनीतिक दलहरुलाई सिध्याउने षडयन्त्र रच्ने , काममा हात हाल्ने दाहालले आफुलाई इमान्दार , सोझो र ढाँटछल नजान्ने दावी गर्नु हास्याँस्पद हो । राजा ज्ञानेन्द्रको साथ छाडेर दिल्लीको शरणमा गएपछिका दाहालका एकएक कदम नेपाली जनताको रेकर्डमा छ । दिल्लीमा गएर पाकिस्तानले पैसा , हतियार र लडाकु दिने प्रस्ताव गरेको तर आफुले अस्वीकार गरेको भन्ने भनाइले उनको भारत भक्ति प्रष्ट देखिन्थ्यो । बाह्रबुँदे सहमति नै भारत सरकारको प्रत्यक्ष निगरानीमा भएको थियो ।

अमेरिकाले आतंककारीको सुचीमा राखेको माओवादीले त्यो सुचीबाट आफ्नो पार्टीको नाम हटाउन के के गर्यो त्यो पनि लुकेको कुरा होइन । झुठ, षडयन्त्र आफ्नो स्वार्थका लागि जस्तोसुकै कदम उठाउन र जे प्रपञ्च रच्न पनि तयार दाहालले अहिले देउवा र ओलीलाई गाली गर्नुको अर्थ छैन । आफै सहमत भएर संविधानसभाको चुनावको तिथि तोकेपछि हारको सम्भावनाबाट तर्सेर सरकारै छाड्ने र चुनाव सार्न बाध्य पार्ने, सत्ताका लागि राजधानी कब्जाको दिवास्वप्न देख्ने पुष्पकमल मौका मिले अझै एमाले र कांग्रेसलाई नै प्रयोग गरेर सत्तामा जाने सपना देखिरहेका छन् । एमालेले साथ छाडेपछि सरक्क राजीनामा दिएर नहटनुको कारण पनि अझै ललीपप दिएर बच्चालाई भुल्याए जस्तो गरी कांग्रेसको एउटा खेमालाई भुल्याउन सकिन्छ कि भन्ने आशले नै काम गरेको हो । तर नेपाली सत्ताराजनीतिको प्रबृति राम्रोसँग बुझेका दाहालको यो बुझ पचाइ मात्र हो । सत्ता हस्तान्तरणको प्रकृया जस्तो तरिकाले भएपनि सत्ताकै लागि जे पनि गर्ने माओबादीले साना दलको चरित्रलाई पनि हेर्नुपर्ने । तीन ठुला दल बाहेक जसको सरकार बन्छ साना दल त्यतैतिर लहसिन्छन । अहिले अंक गणीतीय हिसावले पनि माओबादी निकै कमजोर बन्न पुगेको छ । रबि लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भाडभैलो छ । माधव नेपालको नेकपा एकिकृत समाजबादी का सांंसदहरुले नेपाललाई छाडेर हिडेको चर्चा हुन थालेको छ । यस्ता बेला कसैलाई विश्वास दिलाउन नसक्ने दाहालले विश्वासको मतको अपेक्षा को सँग र किन गर्नु ?

विश्वासको मत लिनु उनको अधिकार हो तर कसैलाई विश्वासमा लिन नसक्नेले विश्वासको अपेक्षा चाँहि राख्नु हुँदैन । त्यो कुरा अहिले नै बुझिराख्नु राम्रो हो । राजनीतिमा सत्ता र शक्तिको भन्दा ठुलो महत्व रहन्छ विश्वसनीयताको । माओवादी अहिलेसम्म विश्वसनीय राजनीतिक दल बन्न सकेको छैन । आफ्ना व्यवहार र क्रियाकलापकै कारण त्यो स्थिति आएको हो । अब अन्तिम अश्त्रको रुपमा दाहालले आज बस्ने मन्त्री परिषद बैठकले दुरगामी महत्वका निर्णय गर्ने, जथाभावी नियुक्ति गर्ने र आउँने सरकारलाई अप्ठेरोमा पार्ने कसरत गर्दै गरेको हल्ला राजनीतिक बजारमा छ । यदि त्यस्तो भयो भने (बिनाश काले विपरित बुद्धि) भन्दा अरु केही हुँदैन । यसले माओबादीलाई पुर्णरुपले पतन गराउँछ । यदि यस्तो भयो भने लोकतन्त्र मुल्यको राजनीति र खुला प्रतिस्प्र्धाबाट राजनीतिमा स्थापित हुने उसका सबै बाटा बन्द हुने निश्चित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *