‘बुद्धिजीवी’ र ‘खुफियातन्त्र’ अलमलिए !

साँच्चै भन्ने हो भने एउटा अल्लारे केटोका रुपमा नै मलाई पत्रकारिताको ग्ल्यामरले तानेको थियो । नेता, अभिनेता देखी सुप्रसिद्ध खेलाडी सम्मलाई मनमा लागेको सोध्न पाइने ! सायद त्यही लोभले अप्रत्यक्ष रुपमै भएपनि पत्रकारिता तर्फ आकर्षित भएँ ।

श्री माथवरसिंह बस्नेतले पूनर्जागरण मासिकबाट शुरू गर्नुभएको यात्रा वार्तालाप साप्ताहिक हुँदै पूनर्जागरण साप्ताहिक सम्म पुग्यो । यो यात्रा क्रममा थोरै नै भएपनि बस्नेतको सहयोगी बन्ने अवसर प्राप्त भयो । पछि झण्डै ४ बर्ष त सत्याग्रह साप्ताहिकको सम्पादक÷प्रकाशक नै बनें । हाल आएर झण्डै बीस बर्षको अन्तराल पछि पुनः राजधानी दैनिकको सम्पादकका रुपमा प्रत्यक्ष पत्रकारितामा फर्केको छुँ । सत्याग्रह साप्ताहिकको २६बर्ष पुरा भयो । यस अवसरमा हालका प्रधान सम्पादक श्री सीताराम ढुंगेलले केही शब्द कोरिदिन भन्नुभएको हुँदा जमर्को गर्दैछु । सत्याग्रहको प्रथम प्रकाशन पूर्व म र त्यसबेलाका मेरा उत्प्रेरक सहयोगी मित्रहरू श्री शरच्चन्द्र वस्ती र श्री अनारसिंह कार्कीलाई निरन्तर एउटा भावनाले घचेटिरह्यो । हामीलाई लाग्यो, साप्ताहिक पत्रिकाको भीडमा हामी पनि थपिन गइरहेका छौं र त्यस्तो अवस्थामा हामी बेग्लै ढंगले प्रस्तुत हुनुपर्छ । हामीलाई कुनै नौलो ‘धमाका’ का साथ शुरू गर्नुपर्छ भन्ने हुतहुतीले पछ्याइरह्यो । तर के गर्ने र कसरी शुरुवात गर्ने भन्ने अन्यौल छँदै थियो । त्यसबेला संजोगबस मेरो हातमा दलाई लामाको पुस्तक ‘फ्रीडम इन एक्जाइल’ आइपुग्यो । त्यस पुस्तकले ममा दलाई लामाप्रति निक्कै नै कौतुहलता पैदा ग¥यो । अनायासै लाग्यो– दलाई लामाको अन्तरवार्ताबाट सत्याग्रहको शुरुवात गर्न पाए त ! सामान्य कौतुहल बिस्तारै बाध्यता बन्न थाल्यो ।

अन्ततः दलाई लामाको अन्तरवार्ता लिइयो । म त्यही अनुभवका बारेमा केही लेख्दैछु । दलाई लामाको अन्तरवार्ता कसरी लिने ? कताबाट उहाँसम्म पुगिन्छ ? कुनै अन्दाज थिएन । दलाई लामाको अन्तरवार्ता लिनु भनेको यहाँको कुनै नेतालाई समाउन जस्तो सहज छैन भन्ने सम्म थाहा थिएन । बुझ्दै खोज्दै जाँदा त समय समयमा यो प्राय असंभव जस्तो पनि प्रतित भयो । लामो प्रयासपछि काठमाडौं लाजिम्पाटमा ‘तिब्बत हाउस’ भनिने दलाई लामाको प्रतिनिधिको कार्यालय छ भन्ने थाहा भयो र उनलाई भेटघाट पनि गरियो । यस बीचमा मैले दलाई लामासँग सम्बन्धित दुईचार थप पुस्तक पनि पढ्न भ्याइसकेको थिएँ । तर तिब्बतका ती प्रतिनिधिसँगको भेट कुनै उत्साहजनक रहेन । ती प्रतिनिधिले औपचारिकता पूरा गर्दथे र अलमलाउँथे । झण्डै २ महिनाको लामो प्रयासपछि उनले हामीलाई ५/७ मिनेट लामो दलाई लामासँग ‘दर्शन भेट’ सम्म मिलाइदिने आश्वासन दिए । तर हामीले त्यो खोजेका थिएनौं । हामीलाई त उहाँको कम्तीमा आधा घण्टा लामो अन्तरवार्ता चाहिएको थियो । हामी निराश भयौं । हामीले त्यो प्रयास छोड्ने निर्णय लियौं । तर सत्याग्रह निकाल्ने र प्रथम अंक कुनै ‘धमाका’ का साथ निकाल्ने हामीले प्रण गरिसकेका थियौं । त्यो ‘धमाका’ के त ? वैकल्पिक सोच पलायो । २०४६ आन्दोलनमा चाक्सिबारीमा उपस्थित भएर कांग्रेसी भेलालाई संबोधन गर्ने भूतपूर्व भारतीय प्रधानमन्त्री चन्द्रशेखरको अन्तर्वार्ता लिन पाए पनि हुन्थ्यो । बीपीपुत्र श्रीहर्ष कोइरालामार्फत् श्री गिरिजाप्रसाद कोइरालाद्वारा चन्द्रशेखरलाई प्रेषित एक पत्र हासिल गर्न हामी सफल भयौं । सायद श्रीहर्षले चन्द्रशेखरका निजी सचिवसँग टेलिफोनमा कुरा पनि गर्नु भएको थियो । म र मित्र श्री अनारसिंह कार्की चन्द्रशेखरको अन्तरवार्ता लिन दिल्ली प्रस्थान गर्यौं । तर मनले ताक्छ मुढो, बञ्चरोले ताक्छ घुँडो भने जस्तो भयो । हामी २ दिन त चन्द्रशेखरको सचिवालयको ‘कर्मचारीतन्त्र’ को जालोमा फस्यौं । हामीलाई अलमलाइयो । तेश्रो दिन समय दिइयो । हामी नियत समयमा पुग्यौं । तर …… ! हामी पुग्दा नपुग्दै चन्द्रशेखर दलबलसहित बाहिर निस्कनुभएको देख्यौं । तत्कालै हामीलाई भनियो, ‘साहबका बडा भाइ गुजर गए, वह बलिया चले गए ।’ अब सायद ८/९ दिन पछि फर्किनुहुन्छ रे ! हामी हिस्स !! अब के गर्ने ?!

के सोचेर हो मैले काठमाडौ छोड्नु अघि ‘तिब्बत हाउस’ बाट एउटा सामान्य परिचयात्मक पत्र लिएको थिएँ । हामीले सोच्यौं, दलाई लामाको थलोमा सिधै पुगेर कोसिस गर्ने कि ! दिल्लीको एउटा कुना (सायद साउथ एक्स्टेन्सन) मा लामाको एक प्रतिनिधि बस्दा रहेछन् । त्यहाँ पुगेर हामीले फगत दलाई लामा धर्मशालामा हुनुहुन्छ कि हुनुहुन्न भनेर जानकारी मात्र लियौं । उहाँ अर्को दश पन्ध्र दिन धर्मशालामै रहनुहुन्छ भन्ने थाहा पाएपश्चात् त्यही साँझ हामी रात्रीबसबाट पठानकोटतर्फ लाग्यौं । बिहान पठानकोटबाट मैक्लोडगंजतर्फ बसबाट हिँडयौं । मैक्लोडगंजमा एकरात बिताएर अर्को दिन बिहान हामी धर्मशाला पुग्यौं । एउटा होटेलमा सामान राखेर हामी तत्काल दलाई लामाको कार्यालयमा पुग्यौं । अब आश्चर्यचकित हुने पालो हाम्रो ! त्यहाँको बन्दोबस्त ब्यवस्था त छँदै थियो । उहाँलाई भारतीय सरकारले जेड प्लस सुरक्षा दिएको थियो । तमाम तामझाम ! अझ सायद नदेखिने गरि अमेरिकी बन्दोबस्त । त्यसमाथि ठूल्ठूला क्यामेरा र उपकरण बोकेका पश्चिमा गोरा पत्रकारहरूको भीड । दुई तीन महिनादेखि समय लिएर आइपुगेका नामी मिडिया र पत्रकार ! हामी चाहिँ सस्तो चिनियाँ टेपरेकर्डर र सानो क्यामेरा बोकेर पुगेका निस्कन बाँकी नेपाली साप्ताहिकका प्रतिनिधि । हामी दुबैजनाले चप्पल लगाएका थियौं र बर्षाको पानीले जीनको पाइन्ट घुँडासम्म भिजेको । रमाइलो कुरो त के भने, हामीले समय लिएका थिएनौं । हामी दलाई लामाको ‘गेट क्र्याश’ गर्न पुगेका थियौं । मानौं कि उनी कुनै गाउँपालिकाका वडा अध्यक्ष हुन् । मैले रिसेप्सनमा गएर परिचयात्मक पत्र दिएँ । पत्र हेरेर तत्काल जवाफ दिइयो– भोलि बिहान दलाई लामा जीपको अगाडिको सिटमा बसेर २/३ सय मिटरको दुरीमा रहेको गुम्बातर्फ जानुहुन्छ, त्यसबेला दर्शन गर्न पाइन्छ रे ! ती रिसेप्सनिस्टका अनुसार हामी भाग्यमानी रहेछौं । त्यस्तो अवसर हप्तामा एकदिन मात्र हुन्छ रे ! हामी वाल्ल पर्यौं । आँट गरेर भनें, ‘हामी त उहाँको अन्तरवार्ता लिन आएको’ । अब आश्चर्यचकित हुने पालो ती महिलाको ! हाम्रो रुपरंग तयारी अनि बिना अप्वाइन्ट्मेन्ट ! तिनले सायद कस्तो प्रतिक्रिया दिने शब्दै पाइनन् । उनले अत्यन्तै अविश्वसनीय मान्दै हेरिन् र खै के सोचेर हो थोरै समय प्रतिक्षा गर्न भनिन् । एकैक्षण पछि हामीलाई एउटा अर्कै कोठामा लगियो जहाँ एक २९/३० वर्षे जवान केटाले हामीलाई नम्र ढंगले स्वागत गरे । वार्तालाप अगाडि बढ्दै गयो र त्यो केटोको आश्चर्यको मात्रा बढ्दै गएको राम्रै बुझिन्थ्यो । निस्कन बाँकी, नेपाली साप्ताहिक, समय नलिइकन गेट क्र्याश गर्न आएको आदि इत्यादि । ऊ नराम्ररी अलमलिएको थियो । किन हो कुन्नी उसले ठाडै इन्कार गर्न सकिरहेको थिएन । ऊ सायद उचित शब्दको खोजीमा थियो । वास्तवमा ऊ हामीलाई पन्छाउने बहाना खोज्दै थियो, तर कठोर देखिन चाहँदैनथ्यो । उनी दलाई लामाका नवनियुक्त प्रेस सचिव रहेछन्, दक्ष तर अनुभवहिन । त्यसबीचमा थाहा भो, उनी कुनै अमेरिकी विश्वविद्यालयबाट हालै एमबीए डिग्री लिएर फर्केका रहेछन् ।

म स्वयंले पनि ८/९ बर्ष अघि विदेशवाट एमबीएको डिग्री हासिल गरेको थिएँ । सायद यो कारणले हामी दुबै ‘एकै खाले भाषा’ बोल्थ्यौं । संभवतः यो पक्षले थोरै हामीलाई सघायो । कुराकानीको क्रममा उनले मलाई सोधे, ‘समय पाउनुभो भने तपाईं दलाई लामासँग कस्ता प्रश्न गर्नु हुन्छ ?’ मैले उनलाई प्रश्नको खाका बताएँ र त्यसैक्रममा भनें, ‘तमाम बन्देजका बावजूद उहाँले गुप्तरूपमा लुम्बिनीको भ्रमण गरेर मायादेवी मन्दिरमा पूजा गर्न कसरी पाउनुभयो ? राजा बीरेन्द्रले कसरी स्वीकृति दिए ? म यो सोध्छु ।’ ती युवकले तत्काल प्रतिवाद गर्दै भने, ‘हामीले तीस वर्षदेखि कोसिस गरिरहेका छौं । सफल भएका छैनौं । दलाई लामा लुम्बिनी पुग्नुभएको छैन ।’ मैले भनें, ‘उहाँ पुग्नुभएको छ । मैले उहाँलाई लुम्बिनी क्षेत्र घुमाउने गाइड आर्कियोलजिस्टलाई भेटेको छु ।’ त्यसपछी ती युवक अलमलिए ! केही क्षण भित्र पुगेर अर्को एक प्रौढ ब्यक्तिलाई लिएर आए र हामीलाई चिनाए– दलाई लामाका प्रमुख सचिव । युवकले बताए कि म ठिक रहेछु । दलाई लामाले १९७५ ताका गोप्यरुपमा लुम्बिनी भ्रमण गरेका रहेछन् । त्यसपछि थोरै वार्तालापपश्चात् उनले अन्तरवार्ताको लागि भोलिपल्ट बिहान नौ बजे आधाघण्टाको समय दिए । दलाई लामासँग यसरी अन्तरवार्ता भएको थियो । म आज त्यो अन्तर्वार्ताको विषयबस्तुमा प्रवेश गर्दिन । सार्बजनिकरुपमा प्रकाशित भएको छ । यति चाहिँ भन्छु– त्यो अनुपम अनुभव थियो । एक प्रकारले दैवी शक्तिको समेत अनुभूती भएको थियो । त्यसबारेमा कुनै समय बेग्लै लेखौंला ।

आज एउटा बेग्लै कुरो लेख्दैछु । दलाई लामासँगको अन्तरवार्ताको तमाम वृतान्त यति नै हो । तर त्यसबेला उक्त अन्तरवार्ता प्रकाशित भएपछि के कस्तो भयो त ? तमाम स्वनामधन्य विश्लेषक, बुद्धिजीवी र अन्तर्राष्ट्रिय कुटनीतिका ज्ञाता विज्ञ मानिनेहरूले निर्क्यौल गरे– ‘सरोज मिश्र, अनारसिंह कार्की र सत्याग्रह अखबार ‘र’ र सीआईएद्वारा पालित पोषित हो !’ ‘र’ को पोषण नभई दलाई लामाको आधाघण्टा लामो अन्तरवार्ता सम्भवै छैन । बहुदलीय ब्यवस्थाको पुनस्र्थापना पछाडिको गृह मन्त्रालयले पनि सायद त्यस्तै रेकर्ड राख्यो । तत्कालिन राजदरवारको सूचना संयन्त्र भनिने आरआईबीले पनि हामीलाई त्यस्तै ढंगले सूचीकरण गरेको मैले थाहा पाएको छु । मैले रगत पसिनाले बनाएको घर पनि सायद दलाई लामा वा ‘र’ को सहयोगबाटै बनेको मानियो ।

तर सत्य के हो भने ‘र’ वा सीआईए कस्तो हुन्छ मैले देखेको छैन । सामान्य अनुमतिपत्र लिन वर्षौं अघि दुईपटक भारतीय दुतावासको काउन्टरसम्म पुगेको छु । दलाई लामावाट धर्मशालामा एक दुई कप चिया बाहेक चुन्दाम पनि लिएको छैन । तर हाम्रा विश्लेषक बुद्धिजीवी अर्कै भन्छन् । सरकारी सूचना संयन्त्र र खुफियातन्त्रको निर्क्यौल त्यस्तै छ । यस्तै हो हाम्रो वौद्धिक एवं ‘इन्टेलिजेन्स’ को आधार ! खै कसरी पार लाग्छ !!

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *