पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा मिति सरेको सर्‍यै

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाको व्यक्ति हत्यामा अभियुक्त बनाइएका मुद्दाको फैसला मिति सरेको सर्‍यै छ । गत असारमा फैसला मिति तोकिएर गत जेठ २३ को संवैधानिक इजलासबाट असार १२ का लागि निसु भएको थियो । तर, संवैधानिक इजलासका न्यायाधीश प्रकाशमान सिंह राउत जिल्लाको अनुगमन भ्रमणमा निस्किएपछि पेसी नै नचढी स्थगित भएको थियो । त्यसपछि असार २३ मा निसु भएको सापकोटाको मुद्दा राजनीतिक दलहरूले संक्रमणकालीन न्याय निरुपणमा सहमतिको प्रयास थालेपछि पुनः सरेको थियो । साउन २३ का लागि सरेको मुद्दामा पेसी भदौ १२ का लागि सारिएको थियो । बुधबार पनि फैसला नभई पुनः निसु सरेको भनिएको छ । १९ वर्ष पुरानो मुद्दा प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ आएपछि उनी नेतृत्वको संवैधानिक इजलासबाटै सुनुवाइ अघि बढेको हो । ०७५ सालमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको थियो । ०७५ फागुन ३ देखि हेर्दाहेर्दैमा राखिएको मुद्दा अन्य आदेश गरेपछि प्राथमिकताबाट बाहिरिएको थियो । त्यसपछि लगातार हेर्न नभ्याइनेमा पर्दै आएको थियो । एकैपटक ०८१ वैशाख १२ मा हेरिएको मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाइ अघि बढेको हो । पूर्वसभामुख सापकोटाविरुद्ध ०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । व्यक्ति हत्याविरुद्धको किटानी जाहेरीबाट चलेको मुद्दामा विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्याय व्यवस्थापन देखाउँदै अदालतलाई निर्णय गर्न अवरोध खडा गरिएको थियो । पछिल्लोपटक सर्वोच्च अदालतले गरेको फैसलाले संक्रमणकालीन न्यायका नाममा फौजदारी न्याय निरुपणको प्रक्रिया सधैँ रोकिएर नबस्ने उल्लेख थियो ।

काभ्रेकी पूर्णीमाया लामाले आफ्ना पति अर्जुन लामालाई सापकोटा समेतले २०६२ वैशाखमा अपहरण गरी असारमा हत्या गरेको प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी नलिएपछि सर्वोच्च अदालतले २०६४ सालमा उक्त निवेदन दर्ता गरी सापकोटाविरुद्ध हत्या अभियोगमा अनुसन्धान–अभियोजन गर्नु भनी परमादेश जारी गरेको थियो । त्यही परमादेशका आधारमा २०६५ साउन २७ गते सापकोटाविरुद्ध ज्यान मुद्दाको अभियोग लगाइ काभ्रे प्रहरीमा जाहेरी दर्ता भएको थियो । जाहेरी दरखास्तपछि काभ्रे प्रहरीले प्रहरी सञ्चारमार्फत अन्य प्रहरी कार्यालयसँग सूचना आदान–प्रदान भएको र फेला नपरेकोे भन्ने प्रहरीले अदालतमा पेस गरेको मिसिलमा उल्लेख छ । अर्थात् उनलाई प्रहरीले फरार सूचीमा राखेको थियो । सूचीमा रहँदारहँदै सांसद, मन्त्री, सभामुख समेत भए । सर्वोच्चले सापकोटाको उजुरीमा भइरहेको अनुसन्धान प्रतिवेदन हरेक महिना सर्वोच्च अदालतमा पेस गर्नू भन्ने आदेशको पालना भएन । २०६८ असार ७ गतेको सर्वोच्चको आदेशले सापकोटाको न्यायालयप्रतिको सम्मानै नरहेको न्यायिक टिप्पणी गरेको छ । निज प्रत्यर्थी अग्नि सापकोटा लगायतका ६ जना प्रतिवादीलाई ज्यान मुद्दाको सिलसिलामा प्रहरीबाट खोजतलास भइरहेको देखिन्छ । यी प्रत्यर्थी अग्नि सापकोटालाई आफूउपर यस्तो अभियोग लगाई जाहेरी परेको र प्रहरीद्वारा आफ्नो खोजी भइरहेको छ भन्ने तथ्यको पूरा जानकारी रहेको भन्ने निजले सञ्चारमाध्यमबाट दिएको वक्तव्य र अन्तर्वार्ताको उक्त ज्यान मुद्दाको मिसिलमा संलग्न कागजातबाट देखिन आउँछ, तत्कालीन न्यायाधीश रामकुमारप्रसाद शाह र प्रकाश वस्तीको संयुक्त इजलासको आदेशमा भनिएको छ, “यस्तो अवस्थामा निज स्वयं पनि प्रहरीसमक्ष उपस्थित भइ अनुसन्धान कार्यलाई सहज तुल्याउन नसकिने होइन । उक्त आदेशमा प्रहरीले खोजी गरिरहेको भन्ने तथ्य थाहा भएका सापकोटा अदालतको आदेशमा आफ्नो विवेकबाट निर्देशित भई नैतिकता प्रदर्शन गर्नुपर्ने उल्लेख छ । सापकोटा प्रहरी र अदालतको सम्पर्कमा नगएपछि हत्या भएका अर्जुन लामाकी श्रीमती पूर्णीमायाले ०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनको रिट भोलिपल्टै पेसी चढे पनि फैसला भने हुन सकेको थिएन । तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेको मुद्दा ०७२ चैत २२ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *