एनआईएमबीको भिसा वेयरेबल ‘एनआईएमबी पेवियर’स्टिकर सञ्चालन

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले कार्डविना नै स्टिकर ट्याप गरेर भुक्तानी गर्न सक्ने भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’ स्टिकर सञ्चालनमा ल्याएको छ । बैंकले एक महिनादेखि सेवाग्राहीलाई उक्त प्रडक्ट सञ्चालनमा ल्याएको हो । एनआईएमबी पेवियर स्टिकर भुक्तानी गर्न प्रयोगकर्ताले बोकेको कुनै पनि डिभाइसबाट पीओएस मेसिनमा ट्याप गरी भुक्तानी गर्न मिल्ने टुल हो । हाल बैंकले प्रयोगमा ल्याएको कार्डबाट पनि ट्याप एन्ड पे गर्न सकिने भए पनि भुक्तानी अझै सरल बनाउन ग्राहकले बोक्ने कुनै पनि डिभाइसमा चिप भएको स्टिकर टाँस्ने सक्ने र त्यसलाई नै ट्याप गरी भुक्तानी गर्न सक्ने स्टिकर प्रयोगमा ल्याएको छ । अब ग्राहकले पीओएस मेसिनमा भुक्तानी गर्न कुनै पनि कार्ड बोक्नु पर्दैन । बैंकले ग्राहकलाई एउटा चिप भएको स्टिकर दिन्छ र ग्राहकले उक्त स्टिकरलाई आफ्नो नियमित प्रयोग गर्ने मोबाइलजस्ता डिभाइसमा उक्त स्टिकर टाँस्न सक्छन् ।

सोही स्टिकर पीओएस मेसिनमा ट्याप गरेर सहजै भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । अहिले बैंकले प्रयोगमा ल्याएको कार्डबाट ट्याप गरेर भुक्तानी गर्न सकिने व्यवस्था छ । अब भुक्तानी गर्न कार्ड बोक्नु पर्दैन, बैंकका कार्ड विभाग प्रमुख बासु उपाध्यायले भने, ‘एउटा स्टिकर मोबाइलमा राखेर त्यसलाई पीओएस मेसिनमा ट्याब गरेर भुक्तानी गर्न सक्छौं । ग्राहकले कुनै पनि पीओएस टर्मिनलमा बैंकको वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित कारोबार गर्न सक्ने नयाँ प्रविधि हो । उक्त प्रविधि नेपालमा डिजिटल भुक्तानीको नयाँ युग सुरुवात भएको बैंकको भनाइ छ । एनआईएमबी पेवियर कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने भन्ने उद्देश्यले डिजाइन गरिएको छ । यसले ग्राहकलाई भौतिक कार्ड वा मोबाइल वालेट बोक्नु नपर्ने अर्को विकल्प प्रदान गर्छ, उपाध्याय भन्छन्, ग्राहकले आफ्नो घडी, की–चेन, मोबाइल फोनजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न सक्छन् । जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ । नेपाल राष्ट्र बैंकले ट्याप एन्ड पेका लागि तोकेको ५ हजारसम्मको भुक्तानी गर्न पिन कोड राख्नु नपर्ने उनले बताए । ५ हजारभन्दा बढीको भुक्तानीमा भने पिनकोड चाहिन्छ । कार्डबाट ५ हजारसम्मको भुक्तानी पिन नभए पनि गर्न सकिन्छ । भिसा वेयरेबल स्टिकर भिसा कार्डजस्तै काम गर्ने स्टिकर वा चिपमा आधारित नयाँ डिजिटल प्रविधि हो । एनआईएमबी पेवियरमा कार्डमा जस्तो नम्बर नदेखिने र एउटा स्टिकरमा प्रयोग भएको चिप आफ्नो डिभाइसमा टाँसिने भएकाले त्यसबाट आफ्नो कार्ड नम्बर गलत प्रयोग हुने सम्भावना नरहने बैंकका कार्ड विभाग प्रमुख उपाध्याय बताउँछन् । कार्ड हटाएको अवस्थामा त्यसको नम्बर केही वेबसाइटमा विनापासवर्ड पनि प्रयोग हुन सक्ने भएकाले जोखिमपूर्ण हुने उनले बताए । तर, एनआईएमबी पेवियरमा कार्ड नम्बर नै नदेखिने भएकाले त्यो जोखिम रहँदैन, जसले कार्डभन्दा थप सुरक्षित हुने उनको दाबी छ । यतिमात्र नभई एनआईएमबी पेवियरमार्फत भुक्तानी गर्ने वा नगर्ने एपबाट नियन्त्रण गर्न सकिने भएकाले थप सुरक्षित र सहज हुने उनको भनाइ छ । एनआईएमबी पेवियर नियन्त्रण एपका माध्यमबाट गर्न सकिन्छ । कुनै कारोबार गर्न दिने वा नदिने एपबाट नै सेट गर्न सकिन्छ । कारोबार गर्दा एपबाट इनेबल र कारोबार गर्न आवश्यक नभए त्यसलाई डिसेबल गरेर राख्न सकिन्छ । कारोबारको पिन कोड पनि एपबाट नै परिवर्तन गर्न सकिन्छ । एनआईएमबी पेवियर सुरक्षामा सम्झौता नगरी भुक्तानीमा थप सहज भएको उनको दाबी छ । यसमा एउटा कार्ड मात्रै आबद्ध गर्न सकिने र डेबिट तथा क्रेडिट दुवै कार्ड प्रयोग गर्नेले दुइटा स्टिकर चाहिने उनले बताए ।

बैंकको लगानी रहेको थैली डिजिटल वालेटमा समेत बैंक खाता र कार्डलाई लिंक गरेर त्यसमार्फत कारोबार गर्न सकिने उनले बताए । थैली वालेटमा बचत खाता नभए पनि बैंकको क्रेडिट कार्ड लिंक गरेर त्यसबाट समेत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने उनको भनाइ छ । कनेक्ट आईपीएसमा समेत कार्ड लिंक गर्न सकिने छ । एनआईएमबी पेवियर युनिक प्रडक्ट भएकाले युवा र विद्यार्थीमा बढी आकर्षण देखिएको कार्ड विभाग प्रमुख उपाध्यायले बताए । बैंकले उक्त प्रडक्ट ल्याएको एक महिना अवधिमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको उनले बताए । ग्राहक माग अनुसार बैंकले उक्त स्टिकर प्रदान गरिरहेको छ । इन्टरनेट कनेक्सन नभए कुनै पनि पीओएस मेसिनमा ट्याप एन्ड पे गरेर सहजै भुक्तानी गर्न सकिन्छ । ‘कलेज पढ्ने विद्यार्थीलाई उक्त प्रडक्टले बढी आकर्षण गरेको पाइएको छ । एटीएमबाट नगद झिक्ने ग्राहकका लागि भने त्यति उपयोगी नहुन सक्छ । सबै एटीएम एनआईएमबी पेवियर उपयुक्त नहुन सक्छ । तर, पसलमा गएर कार्डमार्फत भुक्तानी गरी सामान खरिद गर्ने ग्राहकका लागि यो धेरै सहज हुन्छ, ‘हाम्रा पनि ६० एटीएममा मात्रै उक्त स्टिकर ट्याप गरेर नगद झिक्न सकिन्छ । बैंकले एनआईएमबी पेवियर स्टिकर सुरु गरेको अवसरमा तीन महिनासम्म विशेष अफर समेत ल्याएको छ । उक्त स्टिकर प्रयोग गर्ने प्रयोगकर्तालाई तीन महिनाको शुल्क १ हजार रुपैयाँ छ । तर, सेवा सुरु भएको तीन महिनाभित्र स्टिकर लिने र लिएको तीन महिनाभित्र पीओएस मेसिनमा ट्याप गरी १२ वटा कारोबार गरे १ हजार रुपैयाँ फिर्ता हुने बैंकले जनाएको छ । उक्त स्टिकर प्रयोग गर्न ग्राहकलाई प्रोत्साहन गर्न उक्त अफर ल्याएको बैंकका कार्ड विभाग प्रमुख उपाध्यायले बताए । डेबिट कार्डको तीन वर्षको शुल्क १५ सय रहेकोमा बैंकले यसमा भने १ हजार मात्रै शुल्क लिनेछ । उक्त सेवा सुरु गरेको ३ महिनाभित्र उक्त स्टिकर लिने ग्राहकले १२ वटा कारोबार स्टिकर लिएको मितिले ३ महिनामा गरेमा उक्त १ हजार शुल्क पनि फिर्ता हुनेछ । बैंकले चलाइरहेको कार्ड पनि ट्याप एन्ड पे गर्न मिल्छ । तीन वर्ष अगाडि ल्याइएको उक्त कार्ड धेरैजसो ग्राहकले पीओएसमा चिप घोटेर मात्रै भुक्तानी गर्दै आएको उनले बताए । ग्राहकलाई ट्याप एन्ड पेमा प्रोत्साहन गर्न एनआईएमबी पेवियर स्टिकरसँगै अफर पनि ल्याएको उनले बताए ।

कार्डमा ट्याप एन्ड पेमार्फत भुक्तानी गर्ने सुविधा हुँदा सीमित ग्राहकले मात्रै यस्तो गर्ने गरेको उनले बताए । कार्डमार्फत हुने कुल कारोबारमा साढे ३ प्रतिशत मात्रै ट्याप एन्ड पेमार्फत हुने गरेको छ । हाल बैंकले डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड र भर्चुअल प्रिपेड कार्ड उपलब्ध गराउँदै आएको छ । डलर नभएका ग्राहकलाई बैंकले डलर कार्ड जारी गर्न पाउँदैन । तर, राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि ग्राहकले डलर खाता नभए पनि वर्षमा ५ सय अमेरिकी डलरसम्म खर्च गर्न सक्ने गरी डलर कार्ड लिन सक्ने व्यवस्था छ । डिजिटल माध्यमबाट मात्रै खर्च गर्न सक्ने गरी उपलब्ध गराउने कार्डलाई बैंकले भर्चुअल प्रिपेड कार्ड भन्दै आएको छ । यो कार्डबाट राष्ट्र बैंकले तोकेको क्षेत्रमा मात्रै खर्च गर्न सक्छन् । ग्याम्लिङ, साइट, विटक्वाइन जस्ता कारोबार गर्न नसकिने भए पनि अनलाइन सपिङ, फेसबुक विज्ञापन जस्तो क्षेत्रमा खर्च गर्न सकिने बैंकका कार्ड विभाग प्रमुख उपाध्यायले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *