नेपालको हिमालहरू जलवायु संकटमा छन्, संरक्षणमा ढिला नगरौँ- महामन्त्री शर्मा
काठमाडौं । सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीलाई सन्देश पठाउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको उच्च हिमालहरू जलवायु संकटको गम्भीर चपेटामा परिरहेको र अब ढिलो नगरी संरक्षण र नेतृत्वको बाटो समाउनुपर्ने चेतावनी दिएका छन्।
जलवायु परिवर्तनको प्रत्यक्ष असर अवलोकन गर्न लुक्लादेखि खुम्बु आइसफलसम्मको यात्रा गरेका शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै उच्च हिमाली क्षेत्रको संरक्षणमा सरकारको सक्रियता माग गरेका हुन्। उनले भनेका छन्, “यो संसारलाई जोगाउने हो भने सबैभन्दा पहिले हाम्रा उच्च हिमालहरू जोगाउन जरुरी छ।” नेपालमा अवस्थित विश्वका ८ हजार मिटरभन्दा माथिका १४ मध्ये ८ वटा हिमाल (जसमा सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजंघा, चोयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण पर्छन्) मात्र पर्यटन र आम्दानीको स्रोत नभई राष्ट्रिय गौरवका प्रतीक भएको उल्लेख गर्दै उनले जलवायु संकटलाई ‘जलवायु संकटकाल’ का रूपमा लिन आग्रह गरेका छन्।
शर्माको पत्रमा उल्लेख गरिएका प्रमुख बुँदाहरू :
जलवायु न्यायको मागस् कार्बन उत्सर्जनमा न्यून योगदान दिँदा पनि नेपालजस्ता हिमाली देशहरू जलवायु संकटको सबैभन्दा ठूलो मारमा परेको भन्दै उनले जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय नेतृत्व गर्नुपर्ने बताएका छन्।
निगरानी र सरकारी उपस्थितिस् सरकारलाई सबै आरोहण हुने हिमालहरूको नियमित अनुगमन र बेसक्याम्पहरूमा प्रत्यक्ष उपस्थिति सुनिश्चित गर्न सुझाव दिँदै उनले फोहोर व्यवस्थापनदेखि जोखिममुक्त संरचनासम्म विशेष चासो दिन आग्रह गरेका छन्।
‘सेभ हिमालय’ अभियान र सम्मानस् कामिरिता शेर्पा, आप्पा शेर्पाजस्ता हिमाली योद्धाहरूको अनुभवलाई नीति निर्माणमा उपयोग गर्न र ‘सेभ हिमालय’ अभियान प्रारम्भ गर्न सुझाव दिएका छन्। साथै, तेन्जिङ शेर्पालाई राष्ट्रिय विभूति र एडमन्ड हिलारीलाई मरणोपरान्त ‘मानार्थ नागरिक’ घोषणा गर्न पनि आह्वान गरिएको छ।
अन्तर्राष्ट्रिय कूटनीतिक पहलकदमीस् कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूमाथि दबाब दिन ‘कार्बन उत्सर्जन कम गर्ने राष्ट्रहरूको सहकार्य मञ्च’ स्थापना गरेर नेपालको नेतृत्व प्रस्तुत गर्न उनले प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।
आगामी पुस्तालाई सन्देशस् “हाम्रा हिमालहरू सुन्दर हिमालका रूपमा सुम्पने कि काला पहाडहरूरु” भन्दै उनले अबको नीति र कार्यान्वयनले भविष्य निर्धारण गर्ने बताएका छन्।
शर्माले जलवायु परिवर्तनको असर केवल वैज्ञानिक तथ्यमा होइन, आफूले प्रत्यक्ष अवलोकन गरेका दृश्य, स्थानियवासीको अनुभव र विनाशकारी सम्भावनामा आधारित भएको उल्लेख गरेका छन्। उनका अनुसार, अब प्रतीक्षा गर्ने समय छैन — न सरकारका लागि, न अन्तर्राष्ट्रिय सम्मेलनका लागि।
प्रधानमन्त्रीलाई लेखिएको यस पत्रले नेपालको जलवायु संकटको वास्तविकता उजागर गर्नुका साथै साना राष्ट्रहरूको आवाजलाई विश्व मञ्चमा पुर्याउन अग्रसर हुन सरकारलाई स्पष्ट सन्देश दिएको छ।