चौधरी ग्रुपले सुजुकी गाडी नेपालमै उत्पादन गर्ने
काठमाडौँ । सुजुकी गाडीका लागि नेपालको आधिकारिक विक्रेता चौधरी ग्रुपले सुजुकी गाडी नेपालमै एसेम्बल गरी उत्पादन गर्ने प्रक्रिया सुरु गरेको छ । नेपालमै गाडी एसेम्बल गरी उत्पादन गर्नको लागि सीजी अटोमोटिभ इन्डस्ट्रिज प्रालि नामक कम्पनी दर्ता भइसकेको छ । सिजी होल्डिङले बाराको परवानीपुरमा १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँको कम्पनी दर्ता गरेको छ । सो कम्पनी मार्फत सुजुकी ब्राण्डका कार तथा मोटरसाइकल र तीन पांग्रे सवारी एसेम्बल गरिनेछ ।
नेपालमै गाडी उत्पादन गर्नको लागि दर्ता भएको कम्पनीले वार्षिक १० हजार दुईपांग्रे, ३ हजार तीनपांग्रे र १० हजार चारपांग्रे सवारी उत्पादनको लक्ष्य राखेको छ । कम्पनीले सकेसम्म चालु आर्थिक वर्षबाटै काम सुरु गर्ने प्रतिवद्धता जनाएको उद्योग विभागले जानकारी दिएको छ । सरकारले पछिल्लो समय नेपालमै गाडी एसेम्बल गर्ने कम्पनीलाई छुट दिने र आयातमा कडाई गर्न थालेपछि जापानी कम्पनी सुजुकीको नेपालमै एसेम्बल उद्योग स्थापना हुन लागेको हो । नेपालमा कोरियन कम्पनी ह्युण्डाईले नेपालमै कम्पनी स्थापना गरेर एसेम्बल गर्ने तयारी गरिरहेको समयमा जापानी कम्पनी सुजुकीले कम्पनी दर्ता गरी प्रक्रिया अघि बढाइसकेको हो । विभागले तथ्यांक अनुसार सुजुकीका कार तथा मोटरसाइकल र तीनपांग्रे सवारी बनाउन सीजी अटोमोटिभ इन्डस्ट्रि प्रालि, यामाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लू अटो प्रालि र विद्युतीय स्कुटर एसेम्बल गर्न इ–बोल्ट मोबिलिटी प्रालि दर्ता भएको हुन् ।
यसैगरि, गत कात्तिक ३० गते इ–बोल्ट मोबिलिटी प्रालि नामक उद्योग विभागमा दर्ता भएको छ । ललितपुर जिल्लाको गोदावरीमा रहने उक्त उद्योगमा २४ करोड ३० लाख रुपैयाँ लगानी गर्ने स्वीकृत भएको छ । इ–बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्यूतीय स्कुटर उत्पादन गर्ने क्षमता रहेको जनाएकोे छ । दुईपांग्रे सवारी साधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता भएको छ । विशाल समूहको लगानीमा मोटरसाइकल तथा स्कुटर र तीन पांग्रे सवारी उत्पादन गर्ने उक्त उद्योग दर्ता भएकोे हो । वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र ५ हजार तीन पांग्रे अटोरिक्सा उत्पादन गर्नेगरि ४६ करोड ४५ लाख ९२ हजार रुपैयाँ लगानीमा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ मा स्थापना हुनेगरी उक्त उद्योग दर्ता भएको हो । चारै कम्पनी शतप्रतिशत स्वदेशी लगानीमा स्थापना भएका हुन् ।