अब काठमाडौँमा ७ सय मत गन्न बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ९० हजार ३५५ मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ६१ हजार ३९० मत प्राप्त गरिसकेका छन् । उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार १८७ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले २३ हजार २०३ बढी मत प्राप्त गरेका छन् ।
आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा करिब ७ सय मत गणना गर्न बाँकी रहेको छ । प्रमुख पदमा बालेन विजयी भइसकेका छन्, अब गणना सकेर औपचारिक घोषणा हुन मात्र बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३७ हजार ९४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भएको छ । डंगोलले ६८ हजार २९० मत प्राप्त गरेकी छन् भने उनी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा ४४ हजार ६२९ मतको अन्तरले अगाडी रहेकी छन् । श्रेष्ठले भने २३ हजार ६६१ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १४ को अन्तिम चरणको मत गणना जारी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।