नेफ्स्कूनको साकोस शिखर गोष्ठी
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको चौथो साकोस शिखर गोष्ठी जेठ २९ र ३० गते काठमाडौंमा हुने भएको छ । काठमाडौंमा नेफ्स्कूनले पत्रकार सम्मेलन गर्दै संघको चौथो साकोस शिखर गोष्ठी जेठ २९ र ३० गते काठमाडौंमा गर्न लागेको बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस शिखर गोष्ठी होटल सोल्टीमा गृहमन्त्री बालकृष्ण खाँणले उद्घघाटन गर्ने कार्यक्रम रहेको बताए । उनले दुई दिनको कार्यक्रममा सहकारी क्षेत्रले भोग्नु परेको परिस्थितीका विषयमा बढी केन्द्रित भएर अबको सहकारीलाई नयाँ उचाईमा लानको लागि एकजुट भएर वचत ऋण अभियानमा लाग्ने जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ढकालको अनुसार गोष्ठीमा सहकारीसँग जोडिएका सबै स्टेक होल्डरको सहभागिता रहनेछ । उनले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी कार्यक्रम बनाएको बताए ।
नियामकीय प्रबन्धहरुको जानकारी, वित्तीय सहकारीमा पारेको प्रभावबारे साझा बुझाई विकास गर्ने, वित्तीय सहकारीका सिद्धान्त, संस्कृति र प्रणालीको बारेमा साझा बुझाई र प्रतिवद्धता विकास गर्ने, वित्तीय सहकारीहरुमा एकरुपता कायम गर्ने गोष्ठीको उद्देश्य रहेको उनले बताए । संघले हरेक ३ वर्षमा साकोस शिखर गोष्ठीको आयोजना गर्दै आएको छ । चौथो साकोस शिखर गोष्ठीमा ६०० जना भन्दा बढी अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवाला एवम् विकास साझेदारहरुको सहभागिता रहने संघले बताएको छ ।