चन्द्रागिरि साकोस र किसान नेटविच सहकार्य
काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र किसान नेटबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । चन्द्रागिरि साकोसका सदस्यहरुलाई गुणस्तरीय, सुलभ ईन्टरनेट सेवा प्रवाह, सामुदायिक स्वामित्व प्रवर्धन र किसानहरुलाई आवश्यक विभिन्न सेवा क्षेत्रहरुमा सहज, सुलभ र सरल पुहँच दिने उद्देश्यले सहमति भएको हो । ग्राहक पनि आफैं र मालिक पनि आफैं भन्ने मुल उद्देश्यले किसानहरुलाई सहुलियत दरमा गुणस्तरीय ईन्टरनेट सेवाको साथमा प्रत्येक प्रयोगकर्ताले कम्पनिको इक्विटीमा समेत हिस्सा पाउने गरी यस्तो सम्झौता भएको चन्द्रागिरि साकोसले जनाएको छ ।
यसका साथै किसान केन्द्रित हुनेगरी ई–शिक्षा, किसान स्वास्थ्य, किसान मार्ट, किसान मौसम, किसान बैंकिङ, किसान ईन्भेन्टरी, किसान ईम्प्याक्ट लगायतका थप क्षेत्रहरुमा समेत चन्द्रागिरिका सदस्यहरुले सुविधा पाउने जनाइएको छ । चन्द्रागिरि साकोसको मुख्य कार्यालयमा आयोजित सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र किसान नेटका कार्यकारी निर्देशक केशव स्थापितले हस्ताक्षर गरेका थिए ।
















