पहिरोको जोखिममा फलेनी बस्ती, त्रासले रातभर जाग्राम
लमजुङ । बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेका छन् । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालय भवन र फलेनी बस्ती जोखिममा परेको स्थानीय निरा घिमिरेले बताइन ।
निरन्तरको वर्षाले पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताए । उपल्लो माँझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ । भवनमाथिको सडकबाट खसेको पहिरो भित्तैसम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुङ्गा मुढा र माटो थुप्रिएको छ । अझै पानी परिरहे भवन नै बगाउने जोखिम छु, उनले भने, पहिरोले जताततै लेदो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएका छौं । पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवन पनि जोखिममा पारेको छ । उक्त विद्यालयको कक्षाकोठामै भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ।
वडाध्यक्ष गुरुङले भने, पहिरो निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र छिर्छ सफा गर्दै काम गछौँ । वडा कार्यालयको करिब २० मिटरमाथि सडकबाट आएको पहिरो रोक्न ५ असारमा गाउँपालिकाबाट दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो । तर पहिराले थप क्षति पुर्याउनुका साथै अन्य दुई स्थानका सडक बगाएको छ ।
पहिरोले बस्तीका १० घर पनि जोखिममा पारेका छन् । यही १ असारमा र त्यसपछि बेला–बेलामा खसिरहेको पहिरोले कोषलाल गुरुङ, प्रेम गुरुङलगायतको घर जोखिममा परेको स्थानीय केशव गुरुङले बताए । उनले भने, बर्खा लागेसँगै राम्रोसँग निदाउँन सकेको छैन । पहिरो आउँछ की भनेर रातभर जाग्राम बस्नुपर्छ । उनी मात्र होइन गाउँका अधिकांशको पीडा उस्तै छ । उनीहरूले गाउँपालिकाले आफूहरूलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।