अपराध अनुसन्धानमा प्रविधिको प्रयोग आवश्यक छ’


काठमाडौँ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी सङ्गठनमा समय र परिस्थितिसँगै प्रविधिको विकास हुनुपर्ने बताए । नेपाल प्रहरीको प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र १ नं प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७० आज उद्घाटन गर्दै उनले एउटै ढाँचामा अपराध अनुसन्धान गर्दा चुरोमा पुग्न नसकिने भएकाले अनुसन्धानको प्रक्रिया बदल्नुपर्ने धारणा राखेका छन् ।

उनले सक्षम प्रहरीबाट नै समाज र राष्ट्र सुरक्षित हुने भएकाले प्रदेश सरकार प्रहरी सङ्गठनको भौतिक विकासमा ध्यान दिएको बताए । उनले प्रदेश सरकारले प्रविधिमैत्री बनाउने दिशातर्फ अघि बढिरहेको जानकारी दिँदै सरकारले मोरङको रानीदेखि धरान र झापाको काँकरभिट्टादेखि कोसी ब्यारेजसम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धान जटिल विषय भएको चर्चा गर्दै अनुसन्धान अधिकारीले मेहनत र लगनशीलताले काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रहरी निडर, सक्षम, निर्भय हुनुपर्ने भन्दै प्रमाणले नै सत्यतथ्य थाहा पाउने भएकाले अनुसन्धानका प्रमाणमा विशेष ध्यान दिनुपर्ने बताए ।

महानिरीक्षक सिंहले प्रहरीले प्रभाव र दबाबमा काम नगरी पीडितहरुले न्याय पाउने दिशामा अनुसन्धान अधिकारी चुक्न नहुने धारणा राखेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अहिले ८५ प्रतिशत अपराधका घटना चिनेजानेका मानिसबाट भइरहेको जनाउँदै यौनजन्य जस्ता अपराध छिमेकी र विद्यालयका शिक्षकबाट बढी हुने गरेको तथ्याङ्क रहेको स्पष्ट पारेका छन् ।

उनले परम्परागत हिसाबले अपराध अनुसन्धान हुन नसक्ने भएकाले वैज्ञानिक प्रणाली अपनाउनुको विकल्प नरहेको धारणा राखेका छन् । आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले अपराध अनुसन्धान र शान्ति सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला गम्भीर भएर काम गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालयका प्रमुख सुदिप गिरीले समाज र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा चुनौती थपिएको छ बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनतालाई शान्ति सुरक्षा र न्याय दिलाउन प्रहरीको एकाइ गाउँगाउँसम्म पुगेको उल्लेख गरेका छन् ।

कार्यक्रममा उच्च अदालत विराटनगरका रजिष्ट्रार जीतेन्द्रबाबु थपलिया र सह न्यायाधिवक्ता कोषहरी निरौलाले पनि फौजदारी अपराधका विषयमा अनुसन्धानमा समावेश गर्नुपर्ने विषयका बारेमा चर्चा गरेका छन् । गोष्ठीमा प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुख, ३८ अनुसन्धान एकाइका प्रमुख तथा प्रतिनिधि सहभागी रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *