अध्यक्ष नेपाललाई कारवाहीको प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जितेपछि देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा आयोगले स्पष्टीकरण मागेको हो ।
आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको हो होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण मागेको हो ।
सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको थियो । उक्त विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशनप्रति पार्टीले आपत्ति जनाएको छ ।
एकीकृत समाजवादी (एस)का उपमहासचिव डा. विजय अध्यक्ष नेपालले स्पष्टीकरण नबुझाउँदै प्रहरीलाई कारबाही गर्न आयोगले दिएको निर्देशन लोकतन्त्र विपरीत भएको भन्दै टिप्पणी गरेका छन् । उनले भने “स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश ? यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,” उनले ट्विटरमा भनेका छन् ।
आयोगले अध्यक्ष नेपालले सार्वजनिक अभिव्यक्ति मार्फत फ्री भिसा फ्री टिकटको प्रलोभन देखाएको भन्दै बिहीबार स्पष्टीकरण सोधेको हो । र, कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन पनि दिएको छ ।