दार्चुलामा बडू र ठगुन्ना तेस्रो जितको खोजीमा, कसले जित्लान् ?

काठमाडौँ । दार्चुलाबाट २०४८ सालमा विजयी भइ केन्द्रिय राजनीतिमा बलियो स्थान बनाउनुभएका सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार दिलेन्द्रप्रसाद बडू उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका ६८ वर्षीय बडू तेस्रो जितको खोजीमा हुनुहुन्छ । उहाँ यसअघि २०५६ को निर्वाचनमा समेत विजयी हुनुभएको थियो । संविधानको रक्षा, लोकतन्त्र र आफूबाट सुरु भएका विकास निर्माणका काम पूरा गर्न उम्मेदवार बनेको बडूको भनाइ छ । अन्तिम अवसरको रुपमा उहाँ मतदातामाझ मत माग्दै हिँडिरनुभएको छ ।

“संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि बनेको गठबन्धन हो । गठबन्धनका उम्मेदवार जित्न जरुरी छ ।” बडूले भन्नुभयो । वि.सं २०४८ मा पहिलो पटक विजयी हुनुभएका बडू २०५१ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमसिंह धामीसँग पराजित हुनुभएको थियो । उहाँ २०५६ सालमा पुनः विजयी हुनुभयो । वि.सं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा दार्चुलाबाट नेकपा माओवादीका लक्ष्मणदत्त जोशी विजयी हुनुभयो । सो निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना दोस्रो र बडू तेस्रो स्थानमा रहनुभयो ।

कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाबीच पहिलो प्रतिस्प्र्धा २०६४ सालमा भएको हो । वि.सं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बडू र ठगुन्नाबीच पुनः प्रतिस्पर्धा भयो । ठगुन्ना विजयी हुनुभयो । यस्तै २०७४ सालमा भने एमाले उम्मेदवार पुनः विजयी हुनुभयो । कांग्रेस उम्मेदवार बडू भने समानुपातिकबाट सांसद बन्नुभयो । सो निर्वाचनमा कांग्रेसबाट विक्रमसिंह धामी उम्मेदवार बन्नुभयो ।

सत्ता गठबन्धनबाट अहिले चुनावी मैदानमा हुनुहुन्छ बडू । पाँच दलिय गठबन्धनका कारण तेस्रो जीत निश्चित भएको बडूको दाबी छ । एमाले उम्मेदवार ठगुन्ना पनि आफ्नो जित हुनेमा विश्वस्त हुनुहुन्छ । स्थानीय तह निर्वाचनको परिणामका आधारमा आफू विजयी हुनेमा ठगुन्ना ढुक्क हुनुहुन्छ ।

एजेण्डा एकनासका

कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाका चुनावी एजेण्डा उस्ताउस्तै छन् । दुवै उम्मेदवारले महाकाली करिडोर दार्चुला तिङ्कर सडक समयमै सम्पन्न गर्ने दाबी गरेका छन् । निर्माणाधीन दार्चुला–तिङ्कर सडकको ट्र्याक खुलाउन बाँकी ८७ किलोमिटर क्षेत्र नेपाली सेनालाई दिएको र समयमै निर्माण गर्न पहल गर्ने दुवैको वाचा रहेको छ ।

यो बाहेक जिल्लाभित्र विद्युतीकरण, खानेपानी, विमानस्थल, पर्यटन पूर्वाधारलगायत दुवै उम्मेदवारका चुनावी मुद्दा रहेका छन् । बडू र ठगुन्ना दुवै महाकाली नगरपालिका–५ का बासिन्दा हुनुहुन्छ । एउटै वडाका यी दुवैको मतदान केन्द्र पनि एउटै रहेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई नगरपालिकासहित नौवटा स्थानीय तह रहेको दार्चुलामा एमालेले शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन दुहँु र व्याँस गाउँपालिका प्रमुख जितेको थियो । यस्तै उसले शैल्यशिखर, महाकाली र लेकम गाउँपालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको थियो ।

अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख तथा व्याँस र मालिकार्जुन गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । कांग्रेस भने कुनै पनि स्थानीय तहको प्रमुखमा विजयी भएन । काग्रेसले अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकामा उपाध्यक्ष जीतेको थियो । कूल ६१ मध्ये ३४ वडामा एमाले, १९ वडामा कांग्रेस र १० वडामा माओवादी केन्द्र विजयी भएको थियो ।

स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको मत २९ हजार तीन सय ९७, कांग्रेसको २१ हजार पाँच ५४ तथा माओवादी केन्द्रको सात हजार आठ सय ८१ मत रहेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दार्चुलामा ४५ हजार ५४३ पुरुष र ४३ हजार ६११ महिला गरी कुल ८९ हजार १५४ मतदाता छन् । यहाँ ११२ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *