भोलिदेखि उपत्यकावासीलाई मेलम्चीको पानी
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले भोलिदेखि मेलम्चीको पानी धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार भोलि बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।अहिले ट्यांकीमा पानी आइरहेको छ । भोलि बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ। केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्याएको थियो । २२ वर्षको प्रतीक्षापछि पहिलोपटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो ।