जापानमाथि नेपालको जित
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । गुल्शन झा २८ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे । कुशल भुर्तेलले २१ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए । ९० रनमा ५ विकेट गुमाएर नेपालको इनिङ केहीबेर धर्मराएपनि गुल्शन र दीपेन्द्रले संयमित ब्याटिङ गर्दै जित दिलाए । जापानका शोमा स्लेटरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । साकुरानो थोमस, साबोरिस रविचन्द्रन र डेक्लान सुजुकीले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए । ११ रनमा पहिलो विकेट गुमाएपछि उनले इसार रहमानसँग मिलेर दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । रहमानले ३१ रन बनाएर आउट भए । त्यसको ४ बलपछि कप्तान फ्लेमिङ पनि आउट भए जतिबेला जापानको स्कोर ९९-३ थियो । त्यहाँबाट नेपालले नियमित अन्तरालमा विकेट लिएपछि जापान १८औं ओभरमा १११-६ को अवस्थामा पुगेको थियो । बेन्जामिन इटो डेभिसले अन्त्यतिर १७ रन बनाए । नेपालका लागि गुल्शन झाले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए । नेपालले जापानलाई हराएसँगै सुपर सिक्समा २ अंकका साथ सुरुवात गर्ने भएको छ । दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।















