यो वर्षको जाडो अब कति समयसम्म रहला ? हाल मौसमको अवस्था

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा अहिले चिसो बढ्दो क्रममा रहेको छ । चिसो बढेसँगै मानिसहरूले अब कति दिनसम्म यस्तो जाडो कायम रहला भन्ने चासो व्यक्त गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यो वर्षको जाडो भर्खरै सुरु भएको छ ।

त्यसले गर्दा अबको करिब एक महिनासम्म उपत्यकासहित विभिन्न भागमा चिसो हुने क्रममा खासै कमी नआउन सक्छ ।मौसमविद्का भनाइमा यो वर्षको हिउँदमा गत वर्षको तुलनामा वर्षा कम हुने अनुमान गरिएकाले पानी परेर हुने जाडो गत वर्षको तुलनामा कम पनि हुनसक्छ ।

हिमालमा हिमपात, पहाडमा तुवाँलो र तराईमा हुस्सु

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साता नेपालका कैयौँ हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना देखिएको छ । त्यस्तै पहाडी क्षेत्रमा तुवाँलो लाग्ने र केही स्थानमा वर्षाको सम्भावना देखिन्छ भने तराई क्षेत्रमा पनि हुस्सु लाग्ने देखिएको छ।

आइतवार साँझ महाशाखाले जारी गरेको तीन दिने मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । त्यसले गर्दा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना भएको हो भने अन्य क्षेत्रमा सामान्य वर्षाको सम्भावना भएको हो ।

यद्यपि वर्षा गराउनका लागि व्यापक प्रणाली विकास भएको नदेखिएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। उनले भने, “यसबेला पश्चिमी वायुको प्रभावले वर्षा हुने हो । तर अहिले त्यस्तो व्यापक जलवाष्पयुक्त बादल देखापरेको छैन। तर हल्का देखिएकाले केही स्थानमा वर्षा हुनसक्छ ।”

उनका अनुसार काठमाडौं उपत्यकामा प्रदूषण धेरै भएकाले प्रदूषण मिसिएको तुवाँलो भने लाग्ने देखिन्छ । “यसबेला वायुको गति स्थिर हुन्छ। त्यसले गर्दा तुवाँलो भने लाग्ने देखिन्छ,” उनले भने । त्यो प्रदूषणयुक्त हुने भएकाले विशेषगरी तापक्रम कम हुने बिहान र बेलुका मास्क नलगाई बाहिर हिँड्नु उपयुक्त नहुने उनको भनाइ छ।

त्यस्तै तराईमा अहिले हुस्सु लागिरहेको छ । त्यो क्रम अझै केही दिन बढ्ने अनुमान विभागले गरेको छ । तराईमा लागेको हुस्सुका कारण धेरै स्थानमा उडान सेवाहरू पनि प्रभावित हुन सक्ने पौडेलले बताए ।

उपत्यकामा चिसो

काठमाडौं उपत्यकामा गत साता यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम पुगेको थियो । त्यसबेला उपत्यकामा तापक्रम ३.४ डिग्री सेल्सिअस भएको उनले बताए । त्यस्तै अहिले देशका केही भागहरूमा जस्तै जुम्ला र जोमसोमजस्ता मौसमसम्बन्धी जानकारी दिने केन्द्र भएका स्थानमा न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सिअससम्म पुगेको उनले बताए।

यो क्रम अझै बढ्ने पौडेलले जानकारी दिए । उनले भने, “पुस १५ देखि माघ १५ सम्म नेपालमा धेरै जाडो हुने ठानिन्छ। त्यस्तो जाडो भर्खर सुरु भएको छ त्यसैले यो करिब एक महिना रहन्छ ।”

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही तराईका थोरै  भू-भागमा हुस्सु लागेको अवस्था रहेको छ।                                                                                                  

२०७९ पुस १८गते  (सोमबार)

हाल मौसमको अवस्था

दिउँसोː  प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ।  प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी  प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ पुस १९गते  (मंगलबार)

दिउँसोː  देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ पुस २०गते  (बुधबार)

दिउँसोː   प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही  भू-भागमा  हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *