पोखरा जहाज दुर्घटना : डा. श्रेष्ठको श्रीमती र छोरा सहित एकै चिहान
काठमाडौँ । पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ ।
दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज उनिहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडौँबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा. सुशील श्रेष्ठ, उनका श्रीमती डा. सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।
सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ । सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ ।
तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए । डा. सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत हुनुहुन्थ्यो । डा. सोना पनि एमडी गर्दै हुनुहुन्थ्यो । डा. सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए ।
शोकमा डुबेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भएका थिए । मदनकाजी श्रेष्ठ नेकपा (समाजवादी) पार्टीका सल्लाहकारसमेत छन् । परिवारको निधनका कारण मदनकाजीको आँखामा आँसु आठ दिनदेखि थामिएको छैन । घरमा शव ल्याएपछि बुबा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाए । सुशीलकी आमा पनि परिवारको सम्झनाले मुर्छित अवस्थामा छन् ।
विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाले परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको हो ।
परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा. सुशील श्रेष्ठ, बुहारी डा सोना र १५ महिने नाबालक नातिको सपना अधूरै बन्यो ।
“आँखामा राखे पनि नबिझाउने, अनुशासित डा. सुशील, उनका पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छ । सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ”, पालिखेले भने, “भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिन ।”