केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले केन्द्र र सात वटा प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्ने बताएका हुन् ।

‘हामीलाई अगाडिको पाटो सजिलो छैन् । केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्छ । अब हामीले काम गर्न सकेनौं भने अरूलाई दोष दिने ठाउँ छैन्,’ उनले भने, ‘काम काम काम र कामले परिणाम। हामीले जनताका बीचमा भनेका पूरा गर्नुपर्छ ।’

महामन्त्री थापाले एमालेसँगकै गठबन्धन बलियो बनाएको भए पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने ठाउँ रहेको बताए । उनले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए राष्ट्रपति बन्न सक्ने अवस्था बनेको बताए ।

उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए। आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो । एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो । अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन ।’

उनले राजनीतिप्रति इमान्दार भएर प्रधानमन्त्री प्रचण्डलाई मद्दत गरेर सरकारलाई सफल बनाउनुपर्ने बताए ।

‘प्रधानमन्त्रीलाई सबैले मद्दत गर्नुपर्छ । गठबन्धन बनेको दिनबाट चकचक गर्ने, उपद्रो गर्ने, लसपस गर्न थाल्नु हुँदैन । यो काम गर्नु हुँदैन । राजनीतिक नैतिकता चाहिन्छ । पाँच वर्ष गठबन्धन तलमाथि हुँदैन । झ्याल ढोका बन्द गरेर कोठाभित्र बसेर समझदारी गरे अनुसार पालना गर्नुपर्छ। सरकारलाई सफल बनाउनुपर्छ,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *