कांग्रेसबाट मन्त्री बन्नेको अझै लागेन टुंगो

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको आन्तरिक कलहका कारण वर्तमान सरकारले पूर्णता पाउन सकेको छैन । जसकारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अपूर्ण छ । अझै पाँच मन्त्री नियुक्त हुन बाँकी छन् ।

नेपाली कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री पाएको थियो । तर अहिलेसम्म पाँचजना मन्त्री मात्र बनेका छन् । अब तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त हुन बाँकी छ । कांग्रेसमा संस्थापन इतर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री भागबन्डा दिइएको थियो । तर इतर समूहले अहिलेसम्म मन्त्रीमा कसलाई पठाउने भन्ने निर्णय गर्न सकेको छैन । कांग्रेस नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले उपनिर्वाचन सकिएलगत्तै मन्त्रीमा नाम पठाउने बताएका थिए । तर निर्वाचन सकिएको पनि पाँच दिन बितिसकेको छ । बरु कोइराला र थापा वर्तमान सरकारसँग असन्तुष्ट बनेका छन् ।

अयोग्य लडाकूलाई दुई दुई लाख दिने सरकारको निर्णयलाई लिएर कोइराला र थापाले असन्तुष्टि व्यक्त गरेका छन् । सोही कारण मन्त्रिपरिषद् अझै अपूर्ण हुने देखिएको छ । कोइराला र थापाले सरकारले अयोग्य लडाकूलाई दिने दुई दुई लाख तत्काल रोक्नुपर्ने बताएका छन् । आफ्नै पार्टी सरकारमा सहभागी भए पनि दुवै नेताले आपत्ति जनाएका छन् । यदि सरकारले यो निर्णय फिर्ता नलिएमा संस्थापन इतर समूह सरकारमा सहभागी नहुने सम्भावना धेरै रहेको नेताहरूले बताउन थालेका छन् ।

इतर समूहबाट उपसभापति धनराज गुरुङ, डिकबहादुर लिम्बू, सुरेन्द्रराज आचार्य, जीवन परियार मन्त्री बन्ने चर्चा थियो । तर अझै स्वास्थ्य, कानुन, युवा तथा खेलकुद, खानेपानी, वन मन्त्रालय खाली छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *