पूर्वराजा, पूर्वरानी र हिमानीको नाममा कुनै सामाजिक सञ्जाल नरहेको प्रस्टोक्ति
काठमाडौं । संवाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहको नाममा कुनै पनि सामाजिक सञ्जाल चलाउने नगरेको प्रस्टीकरण दिएको छ ।
बिहीबार एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमा छोरा पारस र बुहारी हिमानीलाई उतारेर फुरफुर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गरेका थिए ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री जस्तो नेताले सार्वजनिक रूपमै सामाजिक सञ्जालमार्फत नचाहिने गतिविधि गरेको आरोपपछि संवाद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कसैले पनि सामाजिक सञ्जाल नचलाउने गरेको प्रस्ट पारेको हो । सचिवालयले यस्ता कपोलकल्पित र भ्रमजालबाट मुक्त रहन र पूर्वराजपरिवारको आस्था र मर्यादामा आँच नपुर्याउन आग्रह गरिएको छ ।
एमालेका अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका थिए । झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनको दाबी छ ।
इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र शाह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’ यो हिमानी शाहको नाममा खोलिएको फेक एकाउन्ट थियो । तर ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको अभिव्यक्ति दिएका थिए ।