दुर्गा प्रसाईविरुद्ध दुरुत्साहन मुद्दा चल्न सक्ने, सिबिफिनले दियो यस्तो चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई विवादै विवादमा तानिएका छन् । बैंक तथा वित्तीय संस्थासँग साढे पाँच अर्बभन्दा बढी ऋण लिएर तिर्न आनाकानी गरेका उनीविरुद्ध फेरि अर्को मुद्दा लाग्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थासँग ऋण लिएकालाई उचालेर संगठित बनाई ऋण नतिर्न प्रसाईले अभियान चलाएका छन् । सोही कारण बैंक तथा वित्तिय संस्था परिसंघ (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवाब्याज नतिर्न दुरुत्साहन गर्नेविरुद्ध मुद्दा चलाउने चेतावनी दिएको छ ।

परिसंघले ऋण नतिर्न दुरुत्साहन गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाविरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने चेतावनी दिएको हो छ । बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, संस्थाको साख गरिमा, विश्वासनीयता वा सम्पत्तिमा हानिनोक्सानी पुप्याउनेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलाप गर्नेविरुद्ध पनि उजुरी दिने परिसंघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

परिसंघले बैंक तथा वित्तिय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको निम्ति प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्नका साथै जस्तोसुकै कठोर कदम चाल्न पनि प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।

‘बैंक तथा वित्तिय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख गरिमा, विश्वासनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुप्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवाब्याज नतिर्न दुरुत्साहन गर्नेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुकाविरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानूनको अधीनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

झापाका विवादास्पद मेडिकल व्यवसायी प्रसाईं उर्फ मार्सीले राजसंस्था फर्काउने नाममा देशव्यापी ‘ऋण मोचन’ अभियान चलाइरहेका छन् । साथै उनले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमाथि कालोमोसो दल्न समिति नै गठन गरेको आरोप छ । त्यसैले अहिले उनीविरुद्ध नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी सबैले सूक्ष्म अनुसन्धान गरिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *