बालकृष्ण पक्राउ पर्दा गुरुराजहरू नारायणकाजीको ढोकामा किन ?

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सचिव टेकनारायण पाण्डेको मोबाइलमा भेटिएको म्यासेजका आधारमा प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर छानबिन अघि बढाइरहेको छ । बुधबार बिहानै प्रहरीले खाँणलाई उनकै निवास मैजुबहालबाट पक्राउ गरेको थियो ।

खाँण पक्राउ परेपछि एकाएक नेपालको राजनीति नै तरंगित हुन पुग्यो । पाँच महिनाअघिका शक्तिशाली गृहमन्त्री ठगीधन्दामा मुछिएपछि कांग्रेसमा पनि सन्नाटा छायो । पार्टी सभापति शेरबहादुर देउवा निकै तनावमा परे । खाँण कसैले टिपेर राजनीतिमा स्थापित भएका नेता थिएनन् । आन्दोलनले खारिएका नेता थिए । आन्दोलनको पर्याय बनेका थिए । तर परिबन्ध र समय परिस्थितिले उनी प्रहरी हिरासतमा पुगेका छन् । जसकारण खाँणसहित नेपाली कांग्रेसको संगठनमा धेरै ठूलो धक्का लागेको छ ।

यस्तो अवस्थामा पार्टी र तिनका नेतालाई सुधार गर्न, पार्टीलाई पुनर्जागरण गर्न कार्यकर्ताले दबाब दिनुपर्ने हो । नेतृत्वलाई सुझाव र सल्लाह दिनुपर्ने हो । तर कांग्रेसमा आफूलाई युवा र बौद्धिक नेता दाबी गर्ने एउटा समूह भने माओवादी नेता एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठमा बिन्ती बिसाउन पुगेको छ । त्यो पनि तिमीले बालकृष्ण खाँणलाई पक्रेर ठिक गर्यौ भन्न पुगे ।

कांग्रेस नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, मधु आचार्य, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, भरत खड्का, डा.गोविन्दराज पोखरेललगायतले गृह मन्त्रालय पुगेरै श्रेष्ठलाई बधाई दिए । यो घटनाले सम्पूर्ण कांग्रेसजनले लज्जाबोध गरेका छन् । पार्टीकै प्रभावशाली नेता पक्राउ पर्दा यत्रो जयजयकार त्यो पनि प्रतिस्पर्धी पार्टीका नेतालाई बधाई किन भन्दै अहिले गुरुराजहरूको नियतप्रति ठूलो आशंका उब्जेको छ ।

गुरु नेविसंघका पूर्वअध्यक्ष हुन् । उनलाई कांग्रेसले धेरैचोटि मौका नदिएको होइन । तर आफैं अगाडि बढ्न अक्षम भइरहेका छन् । कांग्रेसले उनलाई कोसी प्रदेशको सभापति उठाएको थियो । उनी दुई मतले पराजित बन्न पुगे । कांग्रेसले गत मंसिरमा मोरङबाट प्रदेश सभा सदस्य उठाएको थियो । तर उनी पराजित हुन पुगे । चुनावको मुखभरि विरामी भएकाले उनी अस्पतालमै बसेका थिए । तर जब चुनावमा पराजित भए, तब उनले कांग्रेस बिग्रेको देखे ।

कर्ण पनि नेविसंघका पूर्वअध्यक्ष हुन् । उनलाई कांग्रेसले सांसद बनाएकै हो । अवसर उनले पनि पाएकै हुन् । चालिसे नेविसंघकै नेता हुन् । उनी गत मंसिरमा कास्कीमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन् । शाहीले पनि कालीकोटबाट टिकट पाइसकेका हुन् । उनी नेविसंघका पूर्वमहामन्त्री हुन् । कार्यकर्ता संगिठतभन्दा भड्काउको राजनीतिमा उनीहरू बढी अभ्यस्त हुँदै गएका छन् ।

मधु आचार्य पटकपटक कांग्रेसमा अवसर पाउने काभ्रेका नेता हुन् । उनकी श्रीमती कमला पन्त धेरैपटक सांसद र मन्त्री बनिन् । आचार्यले कांग्रेसबाट सांसदको टिकट पाउँदै आएका छन् । तर यसपटक टिकट नपाएको झोकमा उनले काभ्रे २ मा कांग्रेसका शिवप्रसाद हुमागाईलाई अन्तर्घात गरेर पराजित गरे । भोट जति एमालेका गोकुल बास्कोटालाई बेचेको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *