कान्तिपुर हिसान एडुफेयर सम्पन्न,सवा लाखले गरे अवलोकन
काठमाडौँ । कान्तिपुर हिसान बृहत् शैक्षिक मेला (एडुफेयर) आइतबार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन ५० हजार विद्यार्थी र अभिभावकले अवलोकन गरेको आयोजकले जनाएको छ ।काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा भएको चारदिने मेलामा एक लाख २५ हजार जना सहभागी भएको संयोजक टंकराज आचार्यले जानकारी दिए । कक्षा ११ र स्नातक तहमा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको हो ।
गत जेठ ३२ गते बिहीबार सभामुख देवराज घिमिरेले मेलाको उद्घाटन गरेका थिए । तर त्यही दिन काठमाडौं महानगरपालिका प्रहरीले मेलामा हस्तक्षेप गरेपछि रोकिएको थियो । महानगरले मेला रोक्नुको कुनै कारण नदिएपछि आयोजक उच्च अदालत पाटन गएको थियो । अदालतले मेला नरोक्न अन्तरिम आदेश दिएपछि असार ८ गतेबाट पुनः संचालन गरिएको थियो । महानगरले मेलामा अवैध तरिकाबाट रोक लगाएर प्रभावित पार्न खोजे पनि विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जनाए । पहिलो दिन बिना सूचना मेला रोकिएपछि विद्यार्थी अभिभावक फर्कनु परेको थियो ।मेलामा पहिलो पटक काठमाडौं विश्वविद्यालय समेत स्टलसहित सहभागी थियो ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त रूपमा आठौं मेलाको आयोजना गरेका हुन् । जहाँ ७५ भन्दा बढी शिक्षालयहरुको स्टल थियो । नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन एडुफेयर आयोजना गरिएको बताइएको छ । मेलामा १ हजारभन्दा बढी विद्यार्थीको लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको जानकारी समेत दिइएको थियो । अवलोकनमा सहभागी विद्यार्थी र अभिभावकले शैक्षिक सूचना प्राप्त गर्न मेला फलदायी रहेको बताए ।
स्टलबाट विज्ञ, शिक्षक, शिक्षणसंस्था सञ्चालक, विद्यार्थीले अभिभावक र विद्यार्थीलाई काउन्सिलिङ गरेका थिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले स्वदेशी शिक्षणसंस्थाको प्रचारप्रसारका लागि यस्ता खाले मेलाको आवश्यकता रहेको बताए । विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्दति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइएको थियो ।मेलामा विद्यालय तहदेखि विभिन्न विश्वविद्यालयका सम्बन्धन र प्राविधिक तथा व्यावसायिक शिक्षा दिने शिक्षण संस्थाका बारेमा जानकारी दिइएको थियो । मेलामा सीटीईभीटी, त्रिभुवन, पोखरा, पूर्वाञ्चल लगायत विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरु सहभागी थिए । कक्षा ११–१२ पठनपाठन गराउने काठमाडौंका चर्चित शिक्षण संस्थाको पनि उपस्थिति रहेको थियो । मेलामा माई सेकेण्ड टिचर मुख्य प्रायोजक रहेको थियो ।