सावित्राको दुई गोलमा नेपालले भारतलाई हरायो
काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो । सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् । सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिषमा श्रीरभोइकारले गोल गरिन् । ट्राईनेसन्स कपमा इरानले भारत र नेपाललाई हराएर यसअघि नै उपाधि जितेपछि यो खेल प्रतिष्ठाको लडाईँको रुपमा रहेको थियो । जहाँ नेपालले भारतलाई उसैको मैदानमा हराउन सफल भयो । भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्याएकी छिन् । पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो । त्यसअघि भारत इरानसँग २-० ले पराजित भएको थियो । नेपाली टोली उपाधि जित्ने लक्ष्य लिएर शिलोङ पुगेपनि पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो । पछिल्लो समयम महिला फुटबलमा भारत विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारत विरुद्धको नेपालको यो चौथो जित हो । यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो । यस्तै काठमाडौंसमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो । यो जितसहित पछिल्लो पाँच खेलमा नेपालले भारतसँग अपराजित छ । भारत विरुद्धको खेलबाट युवा फरवार्ड मिना देउवाले पनि नेपालको सिनियर महिला टिमबाट डेब्यु गरेकी छिन् । नेपाल यू-१९ महिला टिमकी फरवार्ड उनले उनले ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् । यस्तै मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि महिला टिमको प्रशिक्षकको रुपमा पहिलो जित आत्मसाथ गरेका छन् ।
















