ओटीटी प्लेटफर्म ‘डिगो’सँगको साझेदारीमार्फत जिओ हटस्टार नेपाल प्रवेश, मासिक रू २४९ मै हेर्न पाइने

काठमाडौं। विश्वविख्यात स्ट्रिमिङ प्लेटफर्म ‘जिओहटस्टार’ औपचारिक रूपमा नेपाली बजारमा भित्रिएको छ। नेपाल सरकारबाट स्वीकृति प्राप्त देशकै पहिलो सब्स्क्रिप्सन ओटीटी प्लेटफर्म ‘डिगो’ (डीजीओ) सँगको रणनीतिक साझेदारीमार्फत जिओहटस्टारले नेपालमा आफ्नो विश्वव्यापी यात्रा विस्तार गरेको हो। युनाइटेड किंगडम, क्यानडा, सिंगापुर तथा मध्यपूर्व र उत्तर अफ्रिका (मेना( क्षेत्रमा सेवा विस्तार गरेको केही साताभित्रै जिओहटस्टारले डिगोमार्फत नेपाल प्रवेश गरेको हो। पुस्तौंदेखि भारतीय सिनेमा तथा टेलिभिजनप्रति आकर्षित रहँदै आएका नेपाली दर्शकहरूको सांस्कृतिक निकटतालाई सम्बोधन गर्दै विश्वभर छरिएर रहेका नेपाली दर्शकमाझ आफ्ना सामग्री पुर्‍याउन यो कदम चालिएको बताइएको छ। यस साझेदारीसँगै डिगोको प्लेटफर्मभित्रै जिओहटस्टारका सामग्रीहरूको छुट्टै समर्पित सेक्सन सिर्जना गरिएको छ। अब नेपाली दर्शकले जिओहटस्टारका ब्लकबस्टर चलचित्रहरू ‘१२थ फेल’, ‘भेडिया’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, र ‘वेलकम टु द जंगल’ जस्ता चर्चित सिनेमाहरू हेर्न पाउनेछन्। यसका साथै ‘स्पेसियल अप्स’, ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’ तथा ‘चिरैया’ जस्ता जिओहटस्टार ओरिजिनल्स सिरिजहरू पनि उपलब्ध गराइएको छ। हिन्दी भाषामा डब गरिएका ‘बेथेलहेम कुटुम्ब युनिट’ र ‘थुडाक्म’ जस्ता लोकप्रिय क्षेत्रीय चलचित्रहरूसँगै ‘बिग बोस’, ‘कफी विथ करण’ र ‘इन्डिया का टप १ पर्सेन्ट’ जस्ता बहुचर्चित रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि डिगोमै हेर्न सकिनेछ। डिगोले स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै जिओहटस्टारका सामग्रीसँगै आफ्ना मौलिक प्रस्तुतिलाई पनि थप बलियो बनाएको छ। जसअन्तर्गत अब डिगोमा हरेक हप्ता नयाँ नेपाली चलचित्र थपिनेछ।

यसबाहेक खेलप्रेमी दर्शकहरूका लागि कुनै पनि अतिरिक्त शुल्क नलिई एउटै सब्स्क्रिप्सन प्याकेजमा ला लिगा फुटबल, मोटोजीपी र काराबाओ कप जस्ता प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरूको प्रसारण उपलब्ध गराइएको छ। यसरी नेपाली तथा भारतीय मनोरञ्जन र विश्वस्तरीय खेलकुद अब एउटै छानामुनि उपलब्ध भएका छन्। नेपाली दर्शकका लागि डिगोले विशेष लञ्च अफरसहित न्यूनतम प्रतिमहिना २४९ रुपैयाँबाट सुरु हुने गरी दुई प्रकारका सब्स्क्रिप्सन योजनाहरू सार्वजनिक गरेको छ। जसअन्तर्गत ‘मोबाइल प्लान’ लिने ग्राहकका लागि एक महिनाको २४९ रुपैयाँ, तीन महिनाको ६९९ रुपैयाँ र एक वर्षको २ हजार ४९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै टिभीसहित सबै डिभाइसमा हेर्न मिल्ने ‘प्लस प्लान’का लागि एक महिनाको ३९९ रुपैयाँ, तीन महिनाको ८९९ रुपैयाँ र एक वर्षको २ हजार ६९९ रुपैयाँ तोकिएको छ। दर्शकहरूले डिगोको आधिकारिक वेबसाइटमार्फत वा एन्ड्रोइड, आईओएस, एन्ड्रोइड टिभी तथा स्मार्ट टिभीमा डिगो एप डाउनलोड गरी यी योजनाहरू खरिद गर्न सक्नेछन्। जिओहटस्टारको नेपाल आगमनबारे बोल्दै जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले भारतमा स्थापित मनोरञ्जनको दायरा र विदेशमा भारतीय सामग्रीको मागलाई यस विस्तारले एकै ठाउँमा जोडेको बताए। पुस्तौंदेखि भारतीय चलचित्र, टेलिभिजन कार्यक्रम र कलाकारहरूलाई नजिकबाट पछ्याउँदै आएका दर्शक भएको नेपाल यस यात्राको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनले डिगोसँगको सहकार्यले स्थानीय प्लेटफर्मको सहजतामार्फत जिओहटस्टारलाई नेपाली घरपरिवारको दैनिक मनोरञ्जनको अभिन्न अङ्ग बनाउने विश्वास व्यक्त गरे।

त्यस्तै, डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले यो सहकार्य डिगो र सिङ्गो नेपाली मनोरञ्जन उद्योगकै लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताए। जिओहटस्टारका सामग्रीदेखि हरेक हप्ता आउने नयाँ नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदसम्मका विकल्प दिएर नेपाली दर्शकलाई डिगो रोज्ने दैनिक कारण दिनु आफ्नो मुख्य उद्देश्य रहेको उनले प्रस्ट पारे। उनले नेपाली दर्शकका लागि विशेष रूपमा तयार पारिएको सुलभ मूल्यमा नेपालकै लागि बनेको प्लेटफर्ममार्फत यी सबै सेवा उपलब्ध गराउन पाउँदा उत्साहित भएको धारणा राखे। हाल विश्वभर ५० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता र ३ लाख घण्टाभन्दा बढीको विशाल लाइब्रेरी भएको जिओहटस्टार विश्वकै अग्रणी स्ट्रिमिङ सेवामध्ये एक हो। जिओस्टार नेटवर्कका १०० भन्दा बढी च्यानलहरूबाट चलचित्र, ओरिजिनल्स, प्रत्यक्ष खेलकुद, एनिमे, बालबालिकाका सामग्री तथा टिभी शोहरू १९ भाषाहरूमा उपलब्ध छन्। बेलायत, क्यानडा र सिंगापुरमा प्रत्यक्ष प्रवेश तथा स्टार्जप्ले र डिगो जस्ता स्थानीय साझेदारहरूमार्फत जिओहटस्टारले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पकड विस्तार गरिरहेको छ। उता नेपाल सरकारबाट इजाजतपत्र प्राप्त डिगो नेपालको पहिलो सब्स्क्रिप्सन,आधारित ओटीटी प्लेटफर्म हो, जसले नेपाली चलचित्र, वेब सिरिज, लघु चलचित्र तथा सांगीतिक कार्यक्रमहरूका साथै प्रत्यक्ष खेलकुद नेपाली र अंग्रेजी कमेन्ट्रीसहित एचडी गुणस्तरमा स्ट्रिम गर्दै आएको छ। यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) का पहिलो र दोस्रो सिजन तथा फिफा विश्वकप २०२६ का १०४ वटै खेलहरूको आधिकारिक डिजिटल प्रसारण साझेदार बनेर खेलकुद प्रसारणमा डिगोले आफ्नो छुट्टै छाप बनाइसकेको छ। हाल १३ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्ता र ३ लाख ५० हजार मासिक सक्रिय प्रयोगकर्ता रहेको डिगोले विश्वका १५ भन्दा बढी देशहरूमा रहेका प्रवासी नेपालीहरूलाई जोड्दै आएको छ। डिगोको सेवा लिन नेपालभित्रका ग्राहकहरूले खल्ती, इसेवा, गेटपे, कनेक्टआईपीएस र फोनपेमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् भने विदेशमा रहेका दर्शकहरूले अन्तर्राष्ट्रिय कार्ड तथा क्रस बोर्डर भुक्तानी प्रणालीमार्फत रकम तिर्न सक्ने व्यवस्था मिलाइएको छ। सेवा तथा साझेदारीसम्बन्धी थप जानकारीका लागि डिगोका सम्पर्क व्यक्ति आशिष लामिछानेलाई ९८६७७७२८८५ मा वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सम्पर्क गर्न सकिनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *