भारतको प्रियागोल्ड बिस्कुट नेपालमा प्रतिबन्ध
काठमाडौं । भारतमा खाद्य सुरक्षा मापदण्ड गम्भीर रूपमा उल्लङ्घन गरेको पाइएपछि भारतीय कम्पनी सूर्य फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड बिस्कुटको नेपालमा बिक्री वितरण रोक्न सरकारले निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त बिस्कुटको आयात, बिक्री वितरण र उपभोगमा रोक लगाउँदै बजारमा रहेका सबै बिस्कुट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। विभागले जारी गरेको सूचनाअनुसार भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक सूर्य फुड एन्ड एग्रो लिमिटेडको अनुमतिपत्र निलम्बन गरेको छ। कम्पनीले उत्पादन गरेका बिस्कुटमा गाईवस्तुको दानाका रूपमा प्रयोग गर्नुपर्ने सामग्री मानव उपभोगका लागि प्रयोग गरिएको पाइएको भारतीय पक्षको सूचनामा उल्लेख छ। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले सन् २०२६ अक्टोबर १७ अर्थात् २०८३ असोज ३१ गते जारी गरेको सूचनाका आधारमा नेपालमा समेत उक्त उत्पादनको बिक्री वितरण रोक्ने निर्णय गरिएको विभागले जनाएको छ। विभागका अनुसार प्रियागोल्ड बिस्कुट उत्पादन गर्ने कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण तथा कर्मचारीको व्यक्तिगत स्वच्छतासम्बन्धी मापदण्डमा समेत गम्भीर कमजोरी भेटिएको थियो।
कारखानामा आवश्यक मर्मतसम्भारको अभाव रहेको र कर्मचारीले पालना गर्नुपर्ने स्वच्छतासम्बन्धी मापदण्डसमेत उल्लङ्घन भएको पाइएको जनाइएको छ। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले कम्पनीको अनुमतिपत्र निलम्बन गर्नुका साथै कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाउन स्वीकृति दिएको सूचनामा उल्लेख छ। सोही निर्णयका आधारमा नेपालमा पनि प्रियागोल्ड बिस्कुटलगायत सम्बन्धित उत्पादनको बिक्री वितरण रोकिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले नेपालमा उक्त बिस्कुटको आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीलाई बजारमा रहेका सबै बिस्कुट तत्काल फिर्ता गर्न निर्देशन दिएका हुन्। फिर्ता गरिएका बिस्कुटको सुरक्षित व्यवस्थापन गर्न तथा आवश्यक अभिलेख राख्नसमेत भनिएको छ। विभागले सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनलाई बजार अनुगमन गरी निर्देशन कार्यान्वयन गराउन आग्रह गरेको छ। साथै, उपभोक्तालाई प्रियागोल्ड बिस्कुट खरिद तथा उपभोग नगर्न सचेत गराइएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थको गुणस्तर र स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीमाथि कारबाही गरिने विभागले जनाएको छ।
















