सरकारलाई महेश बस्नेतको प्रश्न– रविलाई एउटा मापदण्ड, सुशीललाई अर्को ?
काठमाण्डौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टको पक्राउ प्रकरणमा फरक मापदण्ड अपनाइएको भन्दै सरकारको आलोचना गरेका छन् । लगानी बोर्डका पूर्वसीईओ भट्ट पक्राउ परेपछि आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बस्नेतले सरकारको आलोचना गरेका हुन् । संगठित अपराधको अनुसन्धानका लागि दसैँकै दिन सुशील भट्ट पक्राउ परेको प्रसंग उल्लेख गर्दै बस्नेतले रवि लामिछानेलाई पक्राउ गरी चितवनबाट पोखरा लैजाँदा असंवेदनशीलताको आरोप लगाउनेहरू अहिले कहाँ छन् भन्दै प्रश्न गरेका छन् ।
बस्नेतले रवि लामिछाने सभापति रहेको रास्वपाकै सरकार हुँदा पनि यस्तो व्यवहार किन भइरहेको छ भन्ने प्रश्न उठाएका छन् । उनले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै व्यक्तिअनुसार मापदण्ड परिवर्तन गर्न नहुने बताए । ‘रवि पक्राउ हुँदा एउटा मापदण्ड, सुशील भट्ट पक्राउ हुँदा अर्को मापदण्ड,’ बस्नेतले लेखेका छन् । ‘हिजो रवि लामिछानेलाई संगठित अपराधको मुद्दामा चितवनबाट पोखरा लैजाँदा असंवेदनशीलताको आरोप लगाउनेहरू अहिले कहाँ छन् ? आज रवि सभापति भएको रास्वपाकै सरकारले यस्तो रवैया किन देखाइरहेको छ ? कानुन सबैका लागि समान हुनुपर्दैन ? कि व्यक्ति हेरेर मापदण्ड बदलिन्छ ?’ बस्नेतले प्रश्न गरेका छन् ।
















