बालेनविरुद्ध फुटपाथ व्यवसायी सडकमा उत्रिँदै
काठमाडौं । उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका हुन् । काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा गलत मेयर भएको उनीहरुको आरोप छ । बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामन्तवादीहरुको पक्ष पोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ । आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन् । आफूहरुमा माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी छ । बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीडा दिएको र उनमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ । राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिक दलको कार्यालयमा प्रेस विज्ञप्तिसहित छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ–संस्थाहरुमा अन्तरक्रिया कार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणासमेत गरेको छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका सहसचिव राजु गिरीले बालेन पर्दा पछाडिको हिरोमात्रै बनेको र फुटपाथ व्यवसायीलाई दुःख दिनेर वर्षौंदेखि नागरिक बस्दै आएको घरहरु भत्काउने काम भन्दा केही नगरको आरोप लगाए । बालेन आफू सर्वैसर्वा हुँ भनेर लागिरहेको उनको आरोप छ । महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ । अब आफूहरु महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रिनेसमेत उनले घोषणा गरे । महानगरका प्रहरीले उठाएर लगेको सामान के गरिन्छ भन्ने वास्तविकता पनि बाहिर आउनुपर्ने उनले बताए । राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लिला दाहालले आफूहरु पनि नेपाली नागरिक भएकाले यहाँ केही गरेर खाने र बाँच्ने अधिकार भएको बताए । आफूहरुको पेशा व्यवसायको संरक्षणका लागि राज्यले अहिलेसम्म कुनै नीति नै नबनाएको उनको गुनासो छ ।
फुटपाथ व्यवसायीहरुले विभिन्न चरणमा महानगरमा ज्ञापन पत्र बुझाउ र वार्ताका लागि जाँदा कुनै सुनुवाई नभएको उनले बताए । बालेनले फुटपाथका व्यापारीलाई व्यवस्थापन गर्ने विषयमा बेलैमा नसोचेमा आफूहरु कडा प्रतिकारमा उत्रिने उनले उद्घोष गरे । तपाईँ अब यो समस्यालाई कसरी समाधान गर्नुहुन्छ रु त्यतातिर जानुुस् । यदि जानुभएन भने तपाईँका पछाडि अब गम्भीर चुनौतिहरु आउने छन् । हामी चुपलागेर बस्ने छैनौं । हिजो जसरी सुकुम्बासी उठाउन जानुभयो नि त्योभन्दा पनि कडा प्रतिकारमा हामी उत्रिने छौं, उनले थपे, त्यो सुकुम्बासीले गरेको त एउटा कास्टिङमात्रै हो, यहाँ लाखौंलाख व्यवसायी हामी उत्रिनुपर्यो भने बालेनजी हिजो इन्डियाबाट आएका हौ कि कताबाट आएका हौ, उतै जानुपर्छ ।
बालेनले फुटपाथ व्यवसायीलाई विकल्प दिन्छु भनेर आफ्नो घोषणापत्रमै उल्लेख गरेको उनले बताए । उनले आज ती घोषणापत्र कहाँ पुग्यो ः भनेर प्रश्न गरेका छन् । मेयर शाहले हेमराज तामाङ, इन्द्रबहादुर राईजस्ता ठूला मान्छेहरुको महलमा चाहिँ डोजर चलाउन नसकेको उनको आरोप छ । राष्ट्रिय स्वरोजगार व्यवसायी संघका इन्चार्ज केशव अछामीले सरकारले उचित व्यवस्थापन नगर्दा फुटपाथ व्यवसायीले २१ वर्षदेखि पीडा झेलिरहेको बताए । २१ वर्षदेखि राष्ट्रिय स्वरोजगार व्यवसायी संघको झण्डा मुनि राखेर आफूहरुले आन्दोलन गर्दै राज्यसँग माग राख्दा आफ्ना मागहरुको सम्बोधन नगरेको आरोप लगाए । बिहान बेलुका २ घण्टा फुटपाथमा बसेर साग बेचेर बालबच्चा पाल्छौं र शिक्षा दिन्छौं भन्दा पनि राज्यले विकल्प दिन नसकेको भन्दै उनले दुखेसो पोखे । आफूहरुले महानगरसँग पटक–पटक वार्ता र छलफल गरेर समस्याको समाधान चाहेपनि यस विषयमा मेयर बालेन गम्भीर नबनेको उनको आरोप छ । एक हप्ताभित्र यस विषयमा सरकारले सरकार र काठमाडौं महानगर सकारात्मक भएर विकल्प नदिएको खण्डमा हजारौं व्यवसायीले काठमाडौं महानगरविरुद्ध संघर्ष गर्ने उनको चेतावनी छ ।
संघर्षको कार्यक्रममा उपस्थित् हुनका लागि उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे । संघर्षमा बलिदान दिनका लागि पनि तयार हुनुपर्ने उनले बताए । राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारका लागि २ सय तीन सदस्यीय युवा टिम तयार भइसकेको बताए । हामी व्यवसायीको तर्फबाट युवा फोर्स तयार भइसकेको छ । संयोजक म आफैं छु । दुई सय तीन जनको टिम हामीले गठन गरेका छौं । स्वयमसेवकहरुले अब व्यवसायीहरुका बीचबाट महानगरले लगेको सामन निगरानी गर्ने र महानगरले धरपकड गरेकै ठाउँमा खोसिनेछ, उनले भने । उद्योग व्यापार सहकार्य महासंघका केन्द्रीय संयोजक कृष्णबल्लभ नेपालले नागरिकले काम गर्ने र गरिखाने वातावरण सिर्जना गर्नपर्ने बताए । गरिखान देउ भनेर पनि लड्न पर्ने दिन आएको भन्दै उनले दुखेसो पोखे । आफूहरुले लुकेर, छिपेर, चोर जसरी व्यापार गर्नुपरेको उनको भनाइ छ । उपत्यका विशेष प्रदेशअन्तर्गत उद्यमी व्यवसायी महाशाखाका अध्यक्ष अमीर गुरुङले फुटपाथ व्यसायी आगोको झिल्को भएको बताए । उनले मेयर बालेनलाई आगोको झिल्कोसँग नखेल्नसमेत आग्रह गरे ।