प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८० बहुमतले पारित

काठमाडौं । आर्थिक विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए ।

त्यसअघि विधेयकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले सरकारले स्वदेशी उत्पादनकर्ताहरुलाई प्रोत्साहन गर्ने गरि बजेट ल्याएको बताए । किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएकाले नै सरकारले साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने व्यवस्था गरिएको उनले बताए ।

अर्थमन्त्री महतले सूर्तिजन्य पदार्थमा सरकारले आवश्यक कर थप गरेको जानकारी दिए । उनले विपत् अथवा भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि केहि बजेट राख्ने गरिएको बताए ।

त्यस्तै, विधेयकको छलफलका क्रममा सांसदहरुले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क नलगाएको तर विद्यार्थीहरुले प्रयोग गर्ने वस्तुहरुमा कर लगाइएको बताएका थिए । उनीहरुले स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *