ललिता निवासको जग्गामा काठमाडौं महानगरले हात हाल्यो, तारबार गर्ने

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको विषयमा अहिले विभिन्न व्यक्ति पक्राउ परेका छन् । कोही फरार छन् । प्रहरीले केहीलाई समातेर अनुसन्धान गरिरहेको छ ।

१४३ रोपनी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा पारेको, खरिदबिक्री गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ४०७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जसमा केही हाई प्रोफाइल व्यक्ति पनि परेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा पार्न बिचौलियाले कर्मचारीलाई घुससमेत दिएको पाइएको छ ।

२२ रोपनी जग्गा कर्मचारीले घुसबापत लिएको अनुसन्धानमा खुलेको छ ।चर्चामा रहेको ललिता निवासमा काठमाडौँ महानगरपालिकाले हात हालेको छ । उसले ललिता निवासको सरकारी जग्गा संरक्षण गर्ने बताएको छ। यसका लागि नापजाँचलगायतका काम सम्पन्न गरेर तारबार गर्ने तयारी काठमाडौँ महानगरले गरेको छ। ‘ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न महानगरले प्रक्रिया अघि बढाइसकेको महानगरीय प्रहरी बलका प्रमुख राजु पाण्डेले बताएका छन् ।

सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्वमा पर्ने भएको उनको भनाइ छ । पाण्डे नेतृत्वको टोली दिउँसो साढे २ बजे ललिता निवासतर्फ जाने र त्यहाँ बनिरहेका संरचना निर्माणकार्य रोक्ने र घेरबार गर्ने बुझिएको छ ।

सीआईबीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायत सातजनालाई पक्राउ गरेको छ । गुरुङ र परिवारका नाममा मात्र २९ रोपनी सरकारी जग्गा नामसारी भएको पाइएको सीआईबीले जानकारी दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *