ऋण उठाउन सरकारको सहयोग माग्दै सहकारी


काठमाण्डौं । सहकारी संस्थाहरुले गरेको ऋण लगानी उठ्न छाडेपछि सहकारीकर्मीहरु सरकारको सहयोग लिन पुगेका छन् । एकातिर सदस्यहरुले लगेको ऋण समयमा नर्तिने र अर्कोतर्फ सदसयहरु बचत फिर्ता लिन दिनरात सहकारी धाउने प्रवृतिका कारण सहकारी संस्थाहरु थप समस्यामा परेका छन् । पछिल्लो समय कतिपय सहकारीहरुले सदस्यको बचत पिर्ता गर्न नसकेर भाग्न थाले पछि ऋण लिएका सदस्यहरु पनि पर्ख र हेरको अवस्थामा बसेका छन् । आर्थिक मन्दीको असर देखाउँदै सदस्यहरु ऋणको साँवा ब्याज तिर्न अटेर गरिरहेका छन् । ऋणी सदस्यले समयमा ऋण नर्तिने र बचतकर्तालाई आज नै सबै बचत फिर्ता चाहिने भएपछि शहरी क्षेत्रका धेरैजसो सहकारी संस्थाहरु समस्यामा पर्दै आएका छन् । आफ्नो ताकतले ऋण उठाउन नसकेपछि सहकारीहरूले अहिले सरकारको सहारा खोजिरहेका छन् । विभिन्न जिल्ला संघहरुले ऋण उठाउन सहजिकरण गरिदिन सरकारसँग अनुरोध गरेका छन् । अर्कोतर्फ सहकारीबाट ऋण लिएर नतिर्नेहरुलाई कारवाही गर्न कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण जस्ता संरचनाहरु गठन भएका छैनन् । यसले गर्दा पनि सहकारीहरुलाई असुलीमा समस्या परिरहेको छ । जिल्ला सहकारी संघ कास्की र जिल्ला सहकारी संघ झापाले सहकारीबाट ऋण लगेर नतिर्नेहरुबाट असुलीका लागि सहयोग गरिदिन नियमनकारी निकायलाई आग्रह गरेका हुन् । संघहरुले स्थानिय तह मार्फत ऋण असुलीका लागि सहजीकरण गर्न आग्रह गरेका थिए । सोही अनुसार कतिपय स्थानिय तहले सहकारी संस्थाको ऋण तिर्न सदस्यहरुलाई सार्वजनिक सूचना प्रकाशित गरि आव्हान समेत गरिसकेका छन् । सहकारी संस्थाको ऋण नर्तिने ऋणीलाइ सरकारले दिने सेवा सुविधाबाट बन्चित गरिने चेतावनी स्थानीय तहले दिएका छन् । जिल्ला सहकारी संघ, कास्कीले सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, पोखरा महानगरपालिका र कास्कीका सबै गाउँपालिकाहरुलाई ऋण असुलीमा सहयोग गर्न आग्रह गरेको हो । कास्कीले सहकारी संस्थासंग ऋण लिने समयमा गरिएको सर्त सम्झौता अनुसार तोकिएको समयमा ऋण भुक्तान गर्न सार्वजनिक सूचना जारी गर्न अपिल गर्दै समयमा ऋण नतिर्ने सदस्यहरुलाई स्थानीय तहबाट हुने सेवा सुविधामा रोक लगाउन सुझाव दिएको छ । जिल्ला संघका तर्फबाट अध्यक्ष सावित्रा कोइरालाले हस्ताक्षर गरी नियमनकारी निकायमा दिइएको पत्रमा पछिल्लो समय बैंक वित्तीय संस्था र सहकारीबाट लगेको ऋण तिर्न नपर्ने भन्दै केही समुहबाट गरिएको आन्दोलनका कारण ऋण तिर्न पर्दैन भन्ने भ्रम सिर्जना भएकाले यस्तो भ्रमलाई चिर्न नियनमनकारी निकायले सार्वजनिक सूचना प्रकाशित गर्नु पर्ने जनाइएको छ । केही सहकारीहरुमा आएको समस्याका कारण सबै सहकारीहरुमा बचत फिर्ताको दवाव परेको संघले जनाएको छ ।

ऋण असुली नभएका कारण सहकारीहरुले समयमा वचत फिर्ता गर्न नसकेको भन्दै संघले बचतकर्ताको रकमको सुरक्षा र फिर्ताका लागि पनि ऋण असुली प्रक्रियालाई सहयोग गर्न आव्हान गरेको हो । सहकारीमार्फत रोजगारी प्रवर्धन, उत्पादन वृद्धि, करमा योगदान, महिला सशक्तिकरण, वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरताको क्षेत्रमा उल्लेखनीय काम भएको भन्दै संघले कोभिड लगायतका समस्याका कारण वित्तीय क्षेत्रमा देखिएको असर सहकारी क्षेत्रमा पनि परेकोले राज्यका निकायहरुले सहकारीको समस्या समाधानमा साथ दिन आग्रह गरेको छ । संघकी अध्यक्ष सावित्रा कोइराला, महासचिव दिपक बाँस्तोला, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य चन्द्रा कुमारी पराजुली, बरिष्ठ प्रबन्धक भोजराज घिमिरे सहितको टोलीले सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्याल, पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीलाई माग पत्र बुझाएको थियो । त्यसैगरी झापा जिल्ला सहकारी संघले सहकारी संस्थाहरुको ऋण असुलीका लागि सहजिकरण गरिदिन पालिकाहरुलाई आग्रह गरेको छ । जिल्लाभित्रका पालिकाहरुलाई औपचारिक पत्र पठाएर संघले समयमै ऋणको साँवा, व्याज भुक्तानीमा अटेर गर्नेलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सहितको सूचना जारी गर्न आग्रह गरेको हो । वित्तीय प्रणालीमा देखिएको तरलता संकटका कारण सहकारीमा पनि गहिरो असर परिरहेको संघले जनाएको छ । अराजक तथा स्वार्थ समूहले आर्थिक संकटको फाइदा उठाउँदै वित्तिय कारोबार गर्ने सहकारी संघ÷संस्था माथि प्रहार गरेको संघले जनाएको छ । यसैगरी ऋण नतिर्न उर्दी गर्ने, व्याज महङ्गो भयो भनेर सदस्यलाई भ्रम सृजना गर्ने, समाजमा अराजकता र अनुशासनहिनता स्थापित गरी आफूले लिएको ऋण नतिर्ने, सके ऋण दिने संस्थालाई नै धरासायी पार्ने उद्देश्य देखिएको छ । गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डीत हुनुपर्ने संघका अध्यक्ष गणेश ढकालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यसअघि नै झापाकै शिवसताक्षी नगरपालिकाले सहकारीको ऋण तिर्नका लागि ताकेता गरिसकेको छ । भरतपुर महानरपालिकाले सहकारीको ऋण तिर्नका लागि ताकेता गरेको छ । महानगरपालिकाको वडा नं ५ कार्यालयले सूचना प्रकाशित गर्दै ऋण तिर्न अटेरी गर्नेलाई सहकारी ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको हो । ‘भरतपुर महानगरपालिकाले वडा नं। ५ अन्तर्गत रहेका विभिन्न सहकारी संस्थाहरुबाट विभिन्न मितिमा ऋण लिएका ब्यक्तिहरुले समयमा ऋण नतिरेको साथै ऋण लिएका ब्यक्तिहरुलाई पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएको भनि यस वडा कार्यालयमा निवेदन प्राप्त हुन आएकोले ऋण लिएका ब्यक्तिहरुले सहकारी संस्थामा सम्पर्क गरि ऋण भुक्तानी गरिदिनुहुन अनुरोध गरिन्छ’ । सूचनामा भनिएको छ, ‘तोकिएको समयावधीमा ऋण नतिरी अटेर गर्ने ऋणीहरुको ३ पुस्ते विवरण सहित नामावली प्रकाशित गरी सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, भरतपुर महानगरपालिकाको सहकारी ऐन २०७५ र प्रचलित ऐन कानुन बमोजिम आवश्यक कानुनी कारवाही हुनेछ ।’ जिल्लाको लम्किचुहा नगरपालिकाले सहकारीबाट लिएको ऋण नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । त्यसैगरी लम्कीचुहा नगरपालिका नगरपालिकाले एक सूचना प्रकाशित सहकारीको ऋण नतिरि अटेरी गर्ने ऋणीहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सहकारीबाट ऋण लिएको भए सहकारी संस्थाहरुमा सम्पर्क गरी समयमै ऋण भुक्तानी गरिदिन अनुरोध गरेको हो । नगरपालिकाले जारी गरेको सूचना भनिएको छ, ‘यस लम्कीचुहा नगरपालिका भल्का कैलालीमा रहेका विभिन्न सहकारी संस्थाहरुबाट विभिन्न मितिमा ऋण लिएका व्यक्तिहरुले ऋण नतिरेको साथै ऋण लिएका व्यक्तिहरुलाई पटक पटक सहकारी संस्थाहरुले ताकेता गर्दा पनि सम्पर्कमा नआएको भनि यस कार्यालयमा निवेदन प्राप्त हुन आएको हुँदा ऋण लिएका व्यक्तिहरुले सहकारी संस्थाहरुमा सम्पर्क गरी ऋण भुक्तानी गरि दिन हुन अनुरोध छ । पछिल्लो समय सदस्यहरुले विभिन्न वहना बनाएर ऋणको साँवा ब्याज तिर्न छाडेको एक सहकारीकर्मीले बताए । उनले भने,‘कार्यालय खोल्यो सदस्यहरुको बचत फिर्ता माग्नेको ताँति हुन्छ । बचत फिर्ता दिन नसकेपछि सदस्यहरुको तथानाम गाली सहनु परेको छ । अपशब्द बोल्ने, कुट्नी ज्यान मार्ने धम्की दिने र टोलेगुन्डा लगाएर धम्की दिने समेत गरेका छन् ।’ व्यापार व्यवसाय नभएको भन्दै बजारमा लगानी गरेको ऋणी सदस्यले ऋणको किस्ता हाल्दैनन् । यसले गर्दा आफुहरु मानसिक रोगी नै भइसकेको उनले गुनासो गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *