धेरै जान्ने बन्न खोजेपछि नारायणकाजी अप्ठेरोमा

काठमाडौं । आफ्नै कुकर्मका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठ चौतर्फी निसानामा परेका छन् । संयुक्त सरकारका गृहमन्त्री भए पनि एकमना सरकारझैं चलेपछि उनीमाथि चौतर्फी प्रहार सुरु भएको हो । सत्ता पक्ष र प्रतिपक्ष दलका अधिकांश नेता उनीसँग असन्तुष्ट छन् ।

श्रेष्ठकै गतिविधिका कारण पार्टी अप्ठेरोमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै नैतिक संकटमा परेका छन् । एकातिर पार्टीकै तीन उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतले प्रचण्डविरुद्ध घेराबन्दी गर्न थालेका छन्, अर्कोतिर पार्टी उपाध्यक्षसमेत रहेका श्रेष्ठकै कारण असहज अवस्थामा पुगेका छन् । आफ्ना पार्टीका नेता र सरकारकै नेतृत्वकर्ता र गठबन्धनका शीर्षनेताविरुद्ध श्रेष्ठले मिडियामा नभएका सूचना प्रवाह गरेको पाइएपछि उनको राजीनामा माग गर्न थालिएको हो । उनकै कारण अहिले प्रतिनिधिसभा बैठक अवरुद्ध बनेको छ ।

एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका एमाले अध्यक्ष केपी ओलीले त्रिभुवन विमानस्थलबाटै श्रेष्ठमाथि निसाना साँधे। सुन तस्करी प्रकरणलाई लिएर उनीमाथि ओली आक्रामक रूपमा प्रस्तुत हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ। ओली कम्बोडिया उड्नुभन्दा अघिल्लो दिन गत साताको बुधबार साँझ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टलभन्दा बढी तस्करीको सुन बरामद गरेको थियो।

भारतबाट ल्याइएका मोटरसाइकल चढ्ने देशमा हङकङबाट ल्याएको मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ को प्रयोजनबारे यसअघि कहिल्यै चर्चा भएन। उक्त ब्रेक सुसहितको सुनको तौल १५५ केजी रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। बलियो सुरक्षा घेरा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिर आएको अवस्थामा सुन बरामद भएपछि सिंगो मुलुकको ध्यान त्यतातर्फ तानिएको छ। यो प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन्।

ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री जवाफदेही हुनुपर्ने भन्नेमाथि उल्टै मुद्दा हाल्न लगाइएको भन्दै आक्रोश व्यक्त गरे। ‘गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुप¥यो उहाँको संलग्नता छ, छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला ? उहाँको संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा  ?’ ओलीको प्रश्न छ ।

यसअघि एमालेनिकट पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले विमानस्थलबाट गृहमन्त्री श्रेष्ठले नै तस्करीको सुन छुटाएको आरोप लगाएका थिए। सुन बरामद भएकै दिन बस्नेतले आफ्नो फेसबुकमा गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट सुन छुटाएको र अर्थमन्त्री प्रकाशशरण महतले राजस्व अनुसन्धान विभागबाट बरामद गर्न लगाएको सूचना आफूलाई प्राप्त भएको उल्लेख गरेका थिए।

त्यसपछि गृहमन्त्री श्रेष्ठको सचिवालयले बस्नेतले गृहमन्त्रीविरुद्ध भ्रम छरेर मानमर्दन गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको थियो। बस्नेतले माफी मागेपछि यो विषय सामसुम भइसकेको छ।सत्तारूढ दलभित्रैबाट पनि गृहमन्त्री श्रेष्ठ आलोचनाको केन्द्रमा छन्। यो विषय प्रतिनिधिसभा बैठक, संसदीय समिति र पार्टीका बैठकमा पनि उठेको छ। कांग्रेस सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा श्रेष्ठको संलग्नता आशंका गरेका छन् ।

सांसद शर्मा यस विषयमा पहिलोपटक शुक्रबार संसद्को कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोलेका थिए। बैठकमा उनले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए।

सुन तस्करीको विषय कांग्रेस केन्द्रीय समिति बैठकमा पनि उठेको छ। कांग्रेस बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ र सत्तारुढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम जोडिएर आएको भन्दै सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *