कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिन एमाले तयार

काठमाडौं । माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमले नयाँ सरकार गठन गर्न पदबाट राजीनामा दिएर सहयोग नगरे कोशी प्रदेशमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ ।

कोशीमा नयाँ सरकार बनाउन सर्वोच्च अदालतले साउन १७ गतेसम्मको समय दिएको छ । अहिले सत्तापक्ष र प्रतिपक्षसँग सभामुखबाहेक ४६–४६ मत छ । सभामुख गौतमले राजीनामा नदिए सत्तारुढ गठबन्धनले सरकार बनाउन सक्दैन । राप्रपाको सहयोग आवश्यक पर्छ । राप्रपा कुनै पनि हालतमा कांग्रेसलाई मुख्यमन्त्री बनाउने गरी सरकारमा सहभागी हुन तयार देखिएको छैन ।

यदि माओवादीले सभामुख गौतमलाई राजीनामा दिन नलगाए वा राप्रपाले सहयोग नगरेमा कांग्रेसले अर्को समीकरण बनाउने सम्भावना पनि त्यत्तिकै छ । हुन त एमालेलाई एक मत मात्र नपुगेको हो । यदि जसपा र एकीकृत समाजवादीले मात्र समर्थन गरे पनि कोशीमा एमाले नेतृत्वको सरकार बन्छ । तर एमाले अहिले कांग्रेसलाई मुख्यमन्त्री दिएर समीकरण फेर्न चाहिरहेको देखिएको छ । कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै विराटनगर पुगेका कार्कीले शुक्रबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार रहेको बताएका हुन् । ‘प्रदेशको समृद्धिको लागि एमाले बाधक हुँदैन । कांग्रेसलाई मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन,’ उनले भने ।

सभामुख गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की पदमुक्त भएका थिए । तर, सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की कामचलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *