कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रदेश सभा सदस्यहरूलाई दुई वा दुईभन्दा बढी दलहरूको बहुमत जुटाएर साउन १६ गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको कोही प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको फैसलामा असार २१ गते जुन मितिदेखि नयाँ सरकार गठन भएको हो त्यही बिन्दुबाट सरकार गठन गर्न भनिएकाले नयाँ सरकारका लागि दाबी पेस गर्न भनिएको उल्लेख छ ।

विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ सरकार गठन हुने प्रदेश प्रमुख कार्यालयले स्पष्ट पारेको छ । एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफ्नो दलले सरकार बनाउन चाहेको उल्लेख गरेको छ ।

अब दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत सिद्ध गर्ने दलको नेता नै मुख्यमन्त्री नियुक्त हुने निश्चित छ ।

राप्रपाको समेत साथ लिँदा मात्र कोशी प्रदेशमा सरकारलाई प्रष्ट बहुमत पाउन सहज छ। अहिले कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धमा छन्। उनीहरुको कूल सांसद ४६ छ। यस्तै, एमाले ४० र राप्रपाको ६ सांसदसमेत ४६ हुन्छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन पाउनुपर्छ।

संघीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले सरकारका गठनका लागि आवश्यक बहुमत पुर्‍याउन नसक्दा प्रदेशसभा मध्यावधितर्फ जान सक्ने खतरा बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *