मणि थापालाई कारबाही गर्दै एमाले
काठमाडौं । माओवादीबाट एमाले प्रवेश गरेका नेताहरूको अहिले बिजोग देखिएको छ । एमाले प्रवेश गर्नेमध्ये रामबहादुर थापा बादल उपाध्यक्ष छन् । लेखराज भट्ट सचिव छन् । सचिव नै रहेका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल जेलमा छन् । माओवादीबाट गएकामध्ये रायमाझी मात्र सांसद हुन् । बादल र भट्ट होइनन् । प्रभु साहले एमाले छाडेर नयाँ पार्टी खोलिसकेका छन् ।
माओवादीबाटै जाने ठूला नेतामध्ये मणि थापा पनि एक हुन् । तर अहिले उनी एमालेमा गुमनाम छन् । केही समयअघि उनले एमालेबाट छुट्टी लिएका थिए । समय सकिएपछि पनि पार्टीमा क्रियाशील नभएपछि उनलाई एमालेले कारबाहीको तयारी गरेको छ ।
एमालेले पार्टी काममा अनुपस्थित हुनुको कारण माग्दै स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । सोमवार बसेको सचिवालय बैठकले थापासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले थापाको निष्क्रियताका बारेमा जानकारी लिन लागिएको हो ।
‘मणि थापा पार्टीमा सक्रिय रहनु भएको देखिएको छैन । त्यस विषयमा जानकारी लिन खोजिएको छ,’ गौतमले भने । गत जेठमा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा थापा छुट्टीमा रहेको उल्लेख गरिएको थियो । एक कार्यक्रममा थापाले एमाले दक्षिणपन्थी पार्टी भएको र त्यसको सुरुवात नेतृत्वबाट भएको भनी टिप्पणी गरेका थिए ।
स्रोतका अनुसार मणि थापा अहिले माओवादी नेताहरूसँग बढी हेलमेल गरिरहेका छन् । उनी नेत्रविक्रम चन्द विप्लवसँगै माओवादी प्रवेशको तयारीमा लागेको सुइँको पाएपछि एमालेले कारबाही प्रक्रिया अघि बढाएको हो । केपी ओलीले आफ्नी श्रीमतीलाई एउटा सरकारी निकायमा नियुक्ति दिएकाले मणि थापा एमालेमा बसेका थिए ।