मुकेश घिमिरे र एलिजा ढकालले गरे नेविसंघको केन्द्रीय समितिमा नबस्ने घोषणा
काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मुकेश घिमिरे र एलिजा ढकाल केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। उनीहरूले मंगलबार नेविसंघका सभापति दुजाङ शेर्पालाई पत्र लेख्दै केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका हुन्।
दुवैले निकालेको विज्ञप्तिमा ‘नेविसंघको सुन्दर भविष्यको कामना गर्दै यस समितिमा नरहेको घोषणा गर्न चाहन्छौँ’ भनेका छन्। उनीहरूले काम गर्न कुनै औपचारिक पदमा बसिराख्नु नपर्नेसमेत उल्लेख गरेका छन्।
गत २२ साउनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए। नेविसंघ समावेशी नभएकोमा पनि विरोध भइरहेको छ। असन्तुष्ट पक्षले विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गर्न पनि माग गरिरहेका छन्। सोमबार मात्रै नेविसंघका अस्रन्तुष्ट विद्यार्थी नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।
‘केही वर्षयता मातृ पार्टीको अत्याधिक एवं अनुचित हस्तक्षेपका कारण ने।वि।संघभित्र लोकतन्त्रको अनुभूति गर्न कठिन भएको कुरा घामजस्तै छर्लंग छ। लामो समय रिक्त रहेको नेविसंघले पूर्णता पाउँदै गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिनु र महिला सहभागिता एकदमै न्यून हुनुले ने।विसंघमा असमानताको अवस्था सिर्जना गरेको प्रति आदरणीय सभापतिको ध्यानाकर्षण गराउन चाहन्छौँ।
साथै उल्लेखित मनोनयनका क्रममा संगठनको संरचना वा बनोट निर्माण गर्दा चुस्तता कायम गर्न नसके यसका निर्दिष्ट लक्ष्य हासिल हुन नसक्ने तथा सांगठिक गतिशीलता एवं प्रभावकारिता समेत कायम हुन नसक्ने यथार्थ बोध गर्न सकेको स्थिति छैन,’ उनीहरूले निकालेको पत्रमा भनिएको छ ।
दुवैले विद्यार्थीको हकहितका लागि काम गर्न नेविसंघको अमूक पदमा बसिरहन आवश्यक पनि नभएको उल्लेख गरेका छन् । ‘नेतृत्व विकासको प्रमुख जगको रुपमा रहेको विद्यार्थी संगठनलाई दुषित पारेर पार्टीको सुन्दर भविष्य भेट्न सकिँदैन । यसले न वर्तमान चुनौतीसँग सामना गर्न सक्छ न थप विद्यार्थीहरू कै आकर्षण गर्न सक्छ । योगदान, क्षमता, कार्यकौशलता र पृष्टिभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित हुँदै जाँदा आजको परिप्रेक्ष्यमा विद्यार्थी राजनीति प्रश्नको घेरामा पर्दै प्रतिरक्षाको सङ्घारमा उभिएको छ।
ने.वि.संघलाई यो दुष्चक्रबाट बाहिर ल्याउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्वमा स्थापित नयाँ पुस्ताका साथीहरूको क्षमतामा विश्वास गर्दै, नयाँ पुस्ताकै आँखाबाट ने।वि। संघ सुन्दर, सक्षम तथा समयानुकुल बनाउने सपना देख्दै, आवश्यक सहयोग, सदभाव, सुझाव र शुभेक्षाका लागि हामी सदासर्वदा तयार नै छौँ । यसका लागि औपचारिक रुपमा कुनै अमुक पदमै बसिरहनु पर्छ भन्ने अनिवार्य शर्त छैन ।’