क्यानडाली कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न निर्देशन

काठमाडौं । भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा तिक्तता बढेको छ ।

दुबै देशले एक-अर्काका एक-एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको छ । आज (मंगलबार) भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न निर्देशन दिएको जानकारी गराएको छ ।

‘भारतका लागि क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारतमा रहेका क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराइएको छ । यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारका एजेन्टले गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए ।

उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए । गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।

प्रधानमन्त्रीले संसदमा संवोधन गरेलगत्तै क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *