शिक्षा विधेयक – शिक्षक महासंघले सरकारसँग वार्तामा बस्न अस्वीकार

काठमाडौं । शिक्षा विधेयकलाई लिएर आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासंघले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार दिउँसो ३ बजेका लागि वार्तामा बोलाएको बैठक अस्वीकार गरेको हो । शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको महासंघले जनाएको छ । महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्री तथा व्यवस्थापिकाले बोलाएको वार्तामा मात्र जाने बताइन् । उनले भनिन्, ‘शिक्षा मन्त्रालयको हातभन्दा बाहिर गइसकेको छ । विधेयक संसद्मा दर्ता भइसकेको छ । विधेयक संसद्मा दर्ता भएपछि शिक्षा मन्त्रालयले बोलाएको वार्तामा जानु औचित्यहीन देखिन्छ । अब हाम्रा मागहरू सम्बोधन गर्ने शिक्षा मन्त्रालयभन्दा बाहिरको विषय बनिसक्यो ।’

महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरु नसमेटिएको भन्दै बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ । त्यसका लागि जिल्ला जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।
पटक–पटक सरकारसँग सहमति र वार्तामा बसेको तर, विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ । महासंघले विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।

महासंघलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन सरकारले आह्वान गरेको हो । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठनसमेत गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा सरकारले शिक्षामन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । तर, महासंघले शिक्षामन्त्रीसँग वार्ता गर्न अस्वीकार गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *